संकटका समयमा नाफामुखी नभई उद्योग व्यवसायलाई बचाउन बैंकिङ्ग क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, ४ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले संकटका समयमा बैंकहरुलाई नाफामुखी नहुन आग्रह गरेका छन् । लकडाउन लम्बिने अवस्थामा उद्योग व्यवसाय पुनरउत्थान गर्दै अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भनेर वित्तीय, मौद्रिक तथा प्रशासनिक उपायहरुमा काम भइरहेको र त्यसालई सहयोग गर्न बैंकले ध्यन दिनुपर्ने बताएका हुन् । आज मन्त्रालयमा नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग भेतवार्ता गर्दै मन्त्री खतिवडाले अल्पकालीन राहत बढाउने उपायमा समेत सरकार र निजी क्षेत्रको साझेदारीमा काम भइरहेको पनि जानकारी दिए ।

त्यस्तै अन्य प्रयोजनका लागि सरकारी कोषमा रकम तानिंदा बैंकिङ्ग क्षेत्रमा तरलता संकट हुने र यसले ब्याजदरमा थप चाप पर्न सक्नेमा आफुहरु सचेत रहेको अर्थमन्त्री खतिवडाले जानकारी दिए । स्थानीय निकायमा खर्च हुन नसकेको रकम बैंकिङ्ग प्रणालीमा ल्याउन सकिने तर्फ आफूहरुको ध्यानाकर्षण भएको पनि उनले जानकारी दिए ।

यसैगरी अन्तर्राष्ट्रिय मुद्राकोष,विश्व बैंक, एसियाली विकास बैंक र एसियाली पुर्वाधार विकास बैंकले कोभिड प्रभावित अर्थतन्त्र तथा स्वास्थ्य क्षेत्रमा जाने थप खर्चका लागि खुलेर सहयोग गर्न तयार रहेको आश्वासन दिएकाले समग्र तरलता व्यवस्थापनमा समस्या नहुने पनि अर्थमन्त्रीले बताउनुभयो । तर बैदेशिक सहयोग परिचालन र खर्चमा भने चुनौती कायम रहेको अर्थमन्त्रीको भनाई छ ।
तरलतामा चाप पर्न नदिन र लगानी खुम्चिन नदिन बैंकहरुले वाह्य क्षेत्रबाट ऋण लिने प्रकृयामा नियमन थप खुकुलो बनाउने र बैदेशिक लगानीलाई थप खुकुलो बनाउने तर्फ पनि गृहकार्य भइरहेको अर्थमन्त्री खतिवडाले जानकारी दिए । ब्याजको भारले संकटमा परेका व्यवसाय उठ्नै नसक्ने अवस्था आउन नदिन बैंकिङ्ग क्षेत्रसँग समन्वय गरेर कर्जाको लागत घटाउने र त्यसकै आधारमा ब्याजदर पनि घटाउन राष्ट्र बैंकसँग मिलेर काम भइरहेको र छिट्टै निर्णयमा पुग्ने कुरामा पनि उक्त प्रतिनिधि मण्डललाई अर्थमन्त्री खतिवडाले आश्वस्त पारेका थिए ।

लकडाउन लम्बिएर कारोबार नै हुन नसकेकाले कतिपय उद्योग व्यवसायले तलव तथा ज्याला दिनै नसक्ने अवस्थामा श्रम लचकता र सामाजिक सुरक्षामा जाने रकमका विषयमा पनि परिसंघले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो । अर्थमन्त्रीले यसमा श्रम मन्त्रालयसँग मिलेर समाधान निकाल्न थप छलफलका लागि आफू तयार रहेको मन्त्री खतिवडाले जानकारी दिए ।

कोरोना भाइरसको महामारीबाट अर्थ व्यवस्थामा देखा परेको अकल्पनीय संकट सामाना गर्न राहत प्याकेजका साथै थप मध्य तथा दीर्घकालीन योजना तथा रणनीति अघि सार्न माग गर्दै नेपाल उद्योग परिसंघले अर्थमन्त्री युवराज खतिवडासँग छलफल तथा सुझावहरु प्रस्तुत गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *