साना उद्योगका लागि राहत प्याकेज ल्याउन घरेलु महासंघको आग्रह

काठमाडौं, ७ वैशाख । कोरोनाबाट प्रताडित लघु, घरेलु तथा साना उद्योगहरूका लागि राहत प्याकेज तथा कार्यक्रमका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघले यस्ता उद्यमीले लिएको कर्जाको किस्ता तथा ब्याज लकडाउन खुलेको एक वर्षभित्रमा तिर्न सकिने व्यवस्था गर्न आग्रह गर्दै कोरोना भाइरस संक्रमणको अवधिभरको बैंक ब्याज तथा हर्जाना मिनाह गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको ध्यानाकर्षण गराएको हो ।
महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले लकडाउनपछि खुल्ने उद्योगहरूलाई चालू पूँजीको आवश्यकता पर्नसक्ने भएकाले कर्जा लिएका उद्यमीहरूलाई आवश्यकता अनुसार सहुलियतपूर्ण पुनर्कर्जाको व्यवस्था गर्दै विगतमा कर्जा नलिएका उद्यमीहरूलाई बढीमा दुई प्रतिशत ब्याजमा सहुलियत दरमा चुक्ता पूँजीको कम्तिमा ७० प्रतिशितसम्म कर्जा उपलब्ध गराउने व्यवस्था हुनुपर्ने बताए । विद्यमान बैंक कर्जा प्रवाहको ब्याजदरमा कम्तिमा चार प्रतिशत घटाइनुपर्ने उनको भनाइ थियो ।
कोरोनाले अर्थतन्त्रमा पु¥याएको असरबाट पाठ सिक्दै रेमिट्यान्स र आयातमुखी अर्थतन्त्रबाट आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
कारोना महामारीबाट प्रताडित नेपाली जनतालाई अहिलेको अवस्थामा विदेशबाट आयातित वस्तु भन्दा स्वदेशकै उत्पादनहरूको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने भन्दै सरकारी तथा सार्वजनिक संस्थाहरूमा स्वदेशी वस्तुको उपयोगलाई अनिवार्य गर्ने आगामी कार्यदिशा बनाउनुपर्ने महासंघले आग्रह गरेको छ ।
श्रम स्वीकृत लिई रोजगारीका लागि विदेश जानबाट बन्चित भएका, विदेशबाट फर्केका वा देशभित्रैका युवाहरू समेत अहिलेको परिस्थितिमा शहर छोडी गाउँ फर्केको अवस्थालाई सदुपयोग गरी उनीहरूलाई आवश्यक सीपमूलक तालिम प्रदान गरि स्थानीय स्तरमा पाइने कच्चा पदार्थको उपयोग गरी गाउँमै लघु, घरेलु तथा साना उद्योग मार्फत स्वरोजगार बनाउन स्थानीय सरकार तथा प्रदेश सरकारले पहल गरेको खण्डमा कोरोना भाइरसबाट अर्थतन्त्रमा पर्न जाने असरलाई न्यून गर्न सघाउ पुग्ने महासंघको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *