युएईद्वारा आप्रवासी कामदार फिर्ता लैजान आग्रह, नेपालको तयारी के छ?
काठमाडौं, १४ वैशाख । संयुक्त अरब इमिरेट्स (युएई)ले आफ्नो देशमा रहेका आप्रवासी कामदार फिर्ता लैजान आग्रह गरेको छ । कोरोना संक्रमणका कारण उद्यम, व्यवसाय बन्द भएपछि युएईले आफ्ना देशका नागरिक फिर्ता लैजान सम्बन्धित मुलुकहरुलाई आग्रह गरिसकेको छ । पाकिस्तानले आफ्ना नागरिक फर्काउने पहल समेत शुरु गरिसकेको छ । युएईमा ७५ नेपाली कोरोना संक्रमित भएको पुष्टी भएको छ भने एक जना महिलासहित ३ जना कामदारको मृत्यु समेत भैसकेको छ । खासगरी त्यहाँ अवैध रुपमा बसेका (अन डकुमेन्टेड) कामदारहरुलाई भने समस्या पर्न सक्छ ।
पछिल्लो दुई वर्षमा १ लाख २२ हजार नेपालीले युएईआ काम गर्न अनुमति लिएका छन् । यद्यपि त्यहाँ २ लाख ७५ हजार देखि तीन लाख नेपालीहरु रहेको अनुमान गरिएको छ । त्यसको सानो हिस्सा मात्रै फर्कन चाहे या फर्कनुपर्यो भने पनि नेपालले न जहाजको प्रबन्ध गर्न सक्छ । न तिनीहरुलाई ल्याएर राख्न क्वारेन्टिन नै छ ।
युएईको मानवस्रोत मन्त्रालयले केही दिन अघि आफ्ना कामदार फिर्ता नलैजाने देशबाट भविष्यमा कादार नलिने सम्मको चेतावनी दिएको छ । यो चेतावनी खासगरी दक्षिण एसियाली देशहरुले आफ्ना कामदार फिर्ता लैजान आनाकानी गरेको प्रति लक्षित रहेको कुटनीतिक मामिला जानकारहरु बताउँछन् ।
वैदेशिक रोजगार मामिलाका जानकार डा. गणेश गुरुङ सरकारले विदेशमा रहेका सबै नेपालीको अभिभावकत्व ग्रहण गर्नुपर्ने बताउँछन् । युएइएको सञ्चार संस्था डब्लुएएमले कामदार फिर्ता नलैजाने देशसँगको श्रम सम्झौता निलम्बन गरेर आगामी दिनमा त्यी देशबाट कामदार लिन कडाइँ गरिने सम्बन्धमा युएईको मानवस्रोत मन्त्रालयका अधिकारीहरुको भनाई उल्लेख गरेको छ ।
आबुधावी स्थित नेपालको कुटनीतिक स्रोतले भने, ‘युएई सरकारले घर फर्कन चाहाने सबै कामदारलाई फिर्ता लैजान आबुधाबीस्थित दक्षिण एसियाली देशका दूतावासहरुलाई मौखिक सन्देश पठाएको छ । संक्रमितहरुको भने इमिरेट्समै उपचार हुनेछ ।’
नेपालसँग न त क्वारेन्टिन छ न त आइसोलेसन नै । त्यसकारण, नेपालले किन दुबईबाट मात्र कामदार फिर्ता ल्यायो दिल्लीबाट किन नल्याएको भन्ने पनि प्रश्न उठ्ने भएकाले अहिले कामदार फर्काउने विषयमा सरकारले कुनै निर्णय लिन अप्ठेरो रहेको बताइन्छ ।