Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विकास निर्माणका क्षेत्रमा कोभिड–१९ को प्रभावबारे निअर्सद्वारा अन्तरक्रिया कार्यक्रम

विकास निर्माणका क्षेत्रमा कोभिड–१९ को प्रभावबारे निअर्सद्वारा अन्तरक्रिया कार्यक्रम

काठमाडौं, २० वैशाख । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल इन्स्टिच्यूट फर अर्बन एण्ड रिजनल स्टडिज (निअर्स), ललितपुरको आयोजनामा विकास निर्माणका क्षेत्रमा कोभिड–१९ को प्रभाव र यस क्षेत्रको पुनरुत्थान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार विद्युतीय माध्यमबाट सञ्चालित उक्त कार्यक्रममा यसक्षेत्रमा क्रियाशील निर्माण व्यवसायी, लगानीकर्ता, इन्जिनियर, योजनाकार, विकासविद् र विज्ञहरूले आफ्ना प्रस्तुतीकरण गरेका थिए ।
यस कार्यक्रममा निअर्सका क्षेत्रीय योजनाकार डा. सगर प्रसाईंले निर्माणक्षेत्रको हालको अवस्था र अबको चुनौतीबारे वक्तव्य दिएका थिए । निर्माणक्षेत्र अर्थतन्त्रमा प्रभाव पार्ने मुख्यक्षेत्र रहेको र कोभिड –१९ को यसक्षेत्रमा परेको प्रभाव चालु आर्थिक वर्षमा मात्र नभई आउँदो आर्थिक बर्षमा पनि देखापर्ने धारणा उनले राखे ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माणको क्षेत्रमा कोरोना संकट सुरु हुनुअघि करीब १५ लाख दैनिक ज्यालादारीमा काम गर्ने मजदुर सहित २० लाख मानिस आबद्ध रहेको, झन्डै आठ खर्ब रुपैया बराबरको ५००० वटा आयोजना संचालनमा रहेको जानकारी दिए । हालको संकटले अधिकांश निर्माण आयोजनाहरु अवरुद्ध भएकोले ती सबै मजदुरहरु प्रत्यक्षरुपमा प्रभावित भएको, विकास निर्माणका कामको मुख्य सिजनका रुपमा रहेको हालको समयमा निर्माण कार्य प्रभावित भएको र अधिकांश मजदुरहरु कृषक रहेकाले कम्तिमा कार्तिक २०७७ अगाडी निर्माण कार्य सुचारु गर्न नसकिने समेत उनको भनाइ थियो ।
कार्यक्रमका अर्का सहभागी एवं जलविद्युत क्षेत्रमा कार्यरत् निर्माण व्यवसायी किरण मल्लले आफुहरूले लकडाउनको अवधिमा निर्माण कार्य सुचारु गर्न प्रयास गरेको भएतापनि निर्माण मजदुरकै कारणले सुचारु गर्न नसकेको जानकारी दिए । वर्षायाम तथा चाडबाड़का कारण यस वर्ष कार्तिक अघि विकास निर्माणका काम अगाडि बढाउन निकै कठिन रहेको उनले बताए ।

उक्त कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका सहायक प्राध्यापक डा. अजयचन्द्र लालले मजदुरको पारिवारिक आर्थिक कारण लगायतका कारणले भने कामदारहरु छिटै काममा फर्किनसक्ने झिनो सम्भावना पनि रहेको धारणा राखे । नेपाल सरकारका पूर्वसचिव सुरेश प्रकाश आचार्यले अहिलेको अवस्थामा सरकारले आन्तरिक राजश्व तथा निर्माण सामग्रीको भन्सारमा केही सहुलियत प्रदान गरी समस्या समाधान गर्ने तर्फ जानुपर्ने बताए ।

कार्यक्रममा अर्का सहभागी नेपाल इन्जिनियर्स एसोसियसनका पुर्व अध्यक्ष किशोर शाक्यले यस्तो अवस्थामा कुन सरकारी संयन्त्रले नेतृत्वदायी भूमिका खेल्ने र निर्माणको क्षेत्रका समस्या हेर्ने प्रस्ट नभएको र यस्तो संस्था बनाउन पर्ने सुझाए । शहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले यस कठिन घडीमा सरकार एक्लैले सबै काम गर्न सक्ने अवस्था नरहेकाले सबैले यसमा सकारात्मक भूमिका खेली आ–आफ्नो क्षेत्रको उचित योजना बनाई अघि बढ्नुपर्ने बताए ।

निअर्सका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदिश चन्द्र पोखरेलले कोभिडको संक्रमणको यस अवस्था र लकडाउन पछिका अवस्थामा विभिन्न क्षेत्रमा पर्न सक्ने प्रभावका विभिन्न पक्षमा छलफल गर्दै तयारी गर्नु पर्ने देखिएकाले निअर्सले अन्तरक्रियाको सुरुवात गरेको र यस कार्यक्रम विकास निर्माणको क्षेत्रमा निकै प्रभावकारी छलफल भएकाले यसको निरन्तरताका रुपमा थप वस्तुगत छलफलहरु आयोजना गरिने जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x