लकडाउनले रोकिएन भेरी–बबई डाइभर्शनको काम, दोस्रो चरणको निर्माण जारी
सुर्खेत, २० वैशाख । कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनका बेला पनि निर्माण अघि बढाइएको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाले दोस्रो चरणको कामलाई जारी राखेको छ । आयोजना निर्माणको दोस्रो चरणमा ६ गेजको ब्यारेज, सर्ज स्याफ्ट, विद्युत्गृह लगायतका संरचना पर्दछन् । यसका लागि आयोजनाले रू. ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च गर्दै छ ।
भेरीबाट प्रतिसेकेण्ड ४० घनमिटर पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै बाँके र बर्दियाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिइएको यो आयोजनाले लकडाउनका बेला पनि निर्माणलाई निरन्तरता दिएको छ ।
सरकारले लकडाउनमा राष्ट्रिय गौरवका आयोजनाको काम नरोक्न निर्देशन दिएपछि आयोजना दोस्रो चरणको निर्माण जारी राखेको सिनियर डिभिजनल हाइड्रोजियोलिष्ट एवं सूचना अधिकारी कृष्णप्रसाद उपाध्यायले बताए । अहिले नदीको बहाव फर्काउने बाँध (कफर ड्याम) र सुरुङको फिनिसिङको काम भइरहेको उनको भनाइ छ ।
कामदारलाई क्याम्पभित्रै राखेर काम जारी राखेको उनले बताए । सरकारले ठूला आयोजनाको निर्माण कार्य जारी राख्न कामदारलाई क्लोज क्याम्पमै राख्नुपर्ने, एक मिटरको दूरी कायम गरी काममा लगाउनुपर्ने, दैनिक स्वास्थ्य जाँच गर्नुपर्नेलगायत निर्देशन दिएको छ ।
बाँधस्थल चिप्लेमा हाल १३० कामदार कार्यरत छन् । सबै कामदारलाई आयोजनास्थलमा सञ्चालित क्याम्पमै खाने बस्ने व्यवस्था मिलाइएको छ । लकडाउन लम्बिए पनि अत्यावश्यक सामग्री अभाव हुन नदिने तयारीमा रहेको आयोजनाले जानकारी दिएको छ । टनेल बोरिङ मेशिन (टिबिएम)को सहायताले गत वर्ष चैतमै १२ किमि २१० मिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको छ । फिनिसिङ, बायो इञ्जिनीयरिङलगायतका काम बाँकी रहेकाले निर्माण कम्पनी चाइना इञ्जिनीयरङ ओभरसिज प्रालि (कोभेक)ले सिँचाइ विभागलाई सुरुङ हस्तान्तरण गरेको छैन । चिनियाँ कम्पनी कोभेकले २०७४ कात्तिक मसान्तदेखि बबई किनार हात्तीखालबाट सुरुङ निर्माण थालेको थियो ।
सम्झौता भएको मितिले ४८ महीनाभित्र दोस्रो चरणको काम सम्पन्न गर्ने कार्यादेश पाएको आयोजनाको सम्पूर्ण काम भने आर्थिक वर्ष २०७९–८० सम्म सम्पन्न गर्नुपर्ने लक्ष्य छ ।