जीवन बीमा शुल्कको किस्ता तिर्ने म्याद पुनः थपियो, जेठ मसान्तसम्म बीमालेख नवीकरण गर्न सकिने
काठमाडौं २२, वैशाख । कोभिड १९ ले उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राखेर बीमा समितिले जीवन बीमाको बीमाशुल्कको किस्ता तिर्ने म्याद पुनः थपेको छ । समितिले चैतमा एक परिपत्र जारी गर्दै लकडाउन अवधिमा म्याद सकिने जीवन बीमालेख वैशाख मसान्तसम्म नवीकरण गर्न सकिने व्यवस्था गरेकोमा हाल आएर जेठ मसान्तसम्म पुर्याएको हो । उक्त निर्णयसँगै चैत ११ यतादेखि नवीकरण गर्नुपर्ने बीमालेख अब जेठ मसान्तसम्ममा गर्न सकिने समितिको भनाइ छ ।
नयाँ निर्देशनअनुसार बीमितले जेठ मसान्तसम्ममा विनाब्याज बीमाशुल्क भुक्तानी गर्न पाउनेछन् । साथै, बीमालेख पनि व्यतीत नहुने उल्लेख छ । लकडाउन बढ्दै गएको र सरकारले पनि निर्देशन दिएकाले म्याद थप गरिएको समितिको भनाइ छ । जीवन बीमा गर्ने व्यक्तिले त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा बीमाशुल्कको किस्ता तिर्नुपर्ने हुन्छ । बीमितले तोकिएको समयमा बीमाशुल्क तिरेनन् भने निजको बीमालेख व्यतीत (ल्याप्स) हुन्छ । तर, बीमितले पछि ब्याजसहित बीमाशुल्क तिरेर उक्त बीमालेख पुनः सुचारु गर्न सक्नेछन् । हाललाई भने उक्त व्यवस्था लागू नहुने र यस अवधिमा बीमालेखको अवधि सकिए पनि ल्याप्स नहुने समितिले बताएको छ ।
समितिले बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण गर्ने म्याद पनि पुनः थप गरेर असार मसान्तसम्म पुर्यएको छ । यसअघि समितिले यस्तो इजाजतपत्रको नवीकरण गर्ने म्याद वैशाख मसान्तसम्म बढाइएको थियो । अहिले लकडाउन बढेपछि त्यसको म्याद थप गरिएको समितिको भनाइ छ ।