विश्व अर्थतन्त्रमा ८८ खर्ब डलर क्षति हुने : एडीबी
काठमाडौं, २ जेठ । एसियाली विकास बैंकले विश्व अर्थतन्त्रमा ५८ खर्ब देखि ८८ खर्ब डलरसम्मको क्षति हुने अनुमान गरेको छ । कोरोना भाइरस महामारीका कारण विश्व अर्थतन्त्रमा ६.४ प्रतिशतदेखि ९.७ प्रतिशतसम्मको क्षति आँकलन गरिएको छ । फागुनदेखि कोरोना भाइरसको महामारी फैलिएर लकडाउन लगायतका उपायहरु अबलम्बन गर्नुपरेका कारण विश्व अर्थतन्त्रमा ठूलो क्षति भएको एडीबीको नयाँ अनुमान सार्वजनिक भएको छ ।
एडीबीले कोभिड–१९ का कारण एसिया प्रशान्त क्षेत्रमा तीन महिनामा १७ खर्ब देखि ६ महिनामा २५ खर्ब डलरसम्मको क्षति हुनसक्ने अनुमान गरेको थियो । यो क्षेत्रमा विश्व अर्थतन्त्रको कुल उत्पादनको ३० प्रतिशत कमी एशिया–प्रशान्त क्षेत्रबाट हुनेछ । यसअघि एडीबीले अप्रिल ३ मा विश्व अर्थतन्त्रमा २० खर्बदेखि ४१ खर्ब डलरसम्मको क्षति अनुमान गरेको थियो ।
ग्लोबल ट्रेड एनालिसिस प्रोजेक्ट– कम्युटेबल जनरल इक्विलिब्रियम मोडलको आधारमा ९६ महामारीको चपेटामा परेका मुलुकका ४० लाख संक्रमितको तथ्यांक समेटेर यो विश्लेषण तयार पारिएको हो । मानिसहरुको आर्थिक क्रियाकलापमात्र ठप्प भएको होइन कि उनीहरुको स्वास्थ्यमा खर्च बढेको छ । पर्यटन, उपभोग, लगानी, व्यापार, उत्पादनका अन्तरआवद्धताका आधारमा एसियाली विकास परिदृश्य (एसियन डेभलपमेन्ट आउटलुक, २०२०) ले प्रसारण च्यानलहरु खासगरी व्यापारको असहजताले लागत बढेको, पर्यटन क्षेत्रमा ठूलो धक्का लागेको र यसले आपूर्तिजन्य पक्षलाई समेत अवरुद्ध पारेको उल्लेख गरिएको छ । यी कारणले लगानीमा समेत गिरावट आएको छ । यसमा सरकाले कोभिड–१९ का असर न्यूनीकरणका लागि गरेका नीतिगत विषयहरु समेत विश्लेषण गरिएको छ ।