जगदुल्ला जलविद्युतको डिपिआर अन्तिम चरणमा, २२ अर्ब लागतमा १०६ मेगावाट उत्पादनको लक्ष्य
काठमाडौं, ४ जेठ । १०६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको जाजरकोटस्थित जगदुल्ला जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अन्तिम चरणमा पुगेको छ । सरकारको नीति तथा कार्यक्रममा समेत समावेश अर्ध जलाशययुक्त यो आयोजनाको डिपिआरको काम अन्तिम चरणमा पुगेको हो । देशका राष्ट्रिय प्रसारणलाइन नपुगेका र ग्रामीण विद्युतीकरण नभएका स्थानमा विद्युतीकरण गर्ने उद्देश्यअनुसार जगदुल्ला जलविद्युत् आयोजना आगामी ६ वर्षभित्र निर्माण गर्ने उद्देश्य लिइएको राससमा उल्लेख छ ।
आयोजना निर्माणका लागि फागुन २८ गतेदेखि मुआब्जा वितरण शुरू भएसँगै आयोजना निर्माणको गति शुरू भएको हो । अब दोस्रो चरणको मुआब्जा वितरणको कामसमेत छिट्टै शुरू गरने आयोजनाले बताएको छ । कुल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिए भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ ।
प्राविधिक टोलीको सल्लाहअनुसार क्षमता घटाएर काम शुरू गरिएको आयोजनाको विस्तृत परियोजनाको प्रतिवेदन (डिपिआर) काम पूरा भए पनि लकडाउनका कारण सार्वजानिक गर्न नपाएको आउने आयोजनाले बताएको छ । २० महीनाभित्र निर्माण पूरा गर्ने भनी गरिएको सम्झौताअनुसार काम पूरा नभएपछि ६ महिना थपेर डिपिआरको कामलाई तीव्रता दिइएको थियो । आयोजनाको विद्युत् गृह जाजरकोटको मुड्केचुला गाउँपालिका–४ इलमा बन्नेछ भने जगदुला गाउँपालिका वडा नं १ र २ मा ड्याम निर्माण गरिनेछ ।
पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण भएको छ । करिब सात दशमलव एक किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २३ मिटर उचाइको जलाशययुक्त ड्याम निर्माण हुनेछ भने उक्त ड्यामको १०० मिटर चौडाइ हुनेछ । ५ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ । आयोजना निर्माणका लागि १० प्रतिशत शेयर स्थानीयवासीले हाल्न पाउनेछन् । सरकार आफै र स्थानीयवासीलाई शेयर दिएर यो आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । यो आयोजनाको कुल लागत रू. २२ अर्ब लाग्ने अनुमान गरिएको छ ।