चैत मसान्तसम्ममा शेयरबजार पूँजीकरण १६ खर्ब २० करोड, ४ अर्ब ७० करोड शेयर सूचीकृत
काठमाडौं, ५ जेठ । चालू आर्थिक वर्षको चैत मसान्तसम्म (९ महिना)मा शेयर बजार पूँजीकरण १६ खर्ब २० करोड कायम भएको छ । गत आर्थिक वर्षको असार मसान्तमा बजार पूँजीकरण रू. १५ खर्ब ६७ अर्ब ५० करोड रहेको थियो । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको चैत मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार चालू आवको ९ महिनामा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १४८ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । यस्तै ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४÷४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् । २०७६ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ८०.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ५.९ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३.७ प्रतिशत, होटेलको हिस्सा १.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.८ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७६ चैतसम्ममा ४ अर्ब ७० करोड शेयर सूचीकृत भएका छन् । सूचीकृत संख्याको चुक्तामूल्य रू. ४ खर्ब ६० अर्ब ४६ करोड रहेको छ । सोही अवधिमा रू. २६ अर्ब २५ करोड बराबरको बोनस शेयर, रू. २१ अर्ब ४६ करोड बराबरको डिबेन्चर, रू. १२ अर्ब १६ करोड बराबरको साधारण शेयर, रू. ५ अर्ब ७५ करोड बराबरको म्युचअल फण्ड, रू. ४ अर्ब ११ करोड बराबरको हकप्रद शेयर र रू. ११ अर्ब ८३ करोड बराबरको अन्य गरी कुल रू. ८१ अर्ब ५५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रू. २१ अर्ब ४५ करोड बराबरको डिबेन्चर, रू. ४ अर्ब ४१ करोड बराबरको हकप्रद शेयर, रू. ३ अर्ब २३ करोड बराबरको साधारण शेयर र रू. १ अर्ब ८० करोड बराबरको म्युचुअल फण्ड गरी रू. ३० अर्ब ८९ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।