मुख्य श्रम गन्तव्यमा ४.५ लाख रोजगारी गुम्न सक्ने

काठमाडौं, ९ जेठ । कोरोना भाइरस महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको साढे चार लाख रोजगारी गुम्न सक्ने वैदेशिक रोजगार व्यवसायी संघको आँकलन रहेको छ । संघले गरेको एक अध्ययनले मलेसियामा एक लाख ५० हजार, संयुक्त अरब इमिरेट्स (युएइ) मा एक लाख २० हजार, कतारमा ८५ हजार, साउदी अरबमा ७६ हजार, कवेतमा १२ हजार, बहराइनमा ४२ सय र ओमनमा १७ सय ५० नेपालीले रोजगारी गुमाउन सक्ने संघको एक अध्ययनले जनाएको छ ।
औसतमा वैदेशिक रोजगारीबाट २० देखि २५ प्रतिशत रोजगारी गुम्न सक्ने संघको आँकलन छ । रोजगार गन्तव्यमा प्रवेशाज्ञाको समयावधि समाप्त भएका र रोजगारी गुमाउने गरी ६ लाख श्रमिकलाई नेपाल फर्काउनुपर्ने अवस्था आउनसक्ने बताइएको छ ।
संघका अनुसार, सुरक्षा गार्ड, ढुवानी, सरसफाइका क्षेत्रमा काम गर्ने कामदारहरुको रोजगारी कायमै रहनेछ । अन्य क्षेत्रमा भने केही रोजगारी कटौती हुनसक्छ । वैदेशिक रोजगारीमा गएका मध्ये झण्डै ७५ प्रतिशत अदक्ष र अर्धदक्ष कामदार छन् । कोरोना भाइरस महामारीले निर्माण, उद्योग, कलकारखाना, व्यापारिक प्रतिष्ठान, हाटेल–रेष्टुरेण्ट बन्द हुँदा यस क्षेत्रका कामदार बढी प्रभावित हुने भएका छन् । कोरोना भाइरस महामारीले पर्यटन क्षेत्रमा ठूलो असर पारेकाले मौरिसस, माल्दिभ्स तथा युरोपेली मुलुकमा काम गर्नेहरु प्रभावित भएका छन् । मुख्य श्रम गन्तव्य खाडी र मलेसियामा भने साढे चार लाख रोजगारी गुम्न सक्ने आँकलन गरिएके हो ।
वैदेशिक रोजगार विभागका अनुसार गत फागुनसम्म ४४ लाख ६५ हजार ८ सय ६५ जनाले श्रम स्वीकृति पाएर वैदेशिक रोजगारीमा गएका छन् । हाल वैदेशिक रोजगारीमा झण्डं ४० लाख नेपाली कार्यरत रहेको संघको अनुमान छ । विदेशमा कार्यरत नेपालीहरुले पठाउने रेमिट्यान्स मुलुकको कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत बराबर छ । गत आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) ५ अर्ब ४८ करोड डलर अर्थात् ६ खर्ब २७ अर्ब बराबर रेमिट्यान्स भित्रिएको छ । कोरोना भाइरसको महामारीका कारण चालु आर्थिक वर्षमा २० प्रतिशत रेमिट्यान्स घट्न सक्ने राष्ट्र बैंकको प्रक्षेपण छ ।