कोभिड–१९ पछिको आशा कृषिमा, तथ्यांक भन्छ– खेतीयोग्य क्षेत्रफल र जीडीपीमा योगदान घट्दो
काठमाडौं, १४ जेठ । कोरोना महामारीका कारण देशको समग्र अर्थतन्त्रमा धक्का लागेको छ । आर्थिक व्यावसायिक गतिविधि शून्यप्रायः हुँदा देशभित्र र बाहिर लाखौं नेपाली बेरोजगार बनेका छन् । त्यसैले बेरोजगारी र सम्भाव्य खाद्य संकट समाधानका लागि अबका दिनमा कृषिक्षेत्रको प्रवद्र्धनमा जोड दिनुपर्ने विज्ञहरूको सुझाव छ ।
कृषिमन्त्री स्वयंले पनि आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता कृषि हुनुपर्ने बताउँदै आएका छन् । आगामी आवमा कृषि बजेट बढाउने सरकारको भनाइ छ । तर तथ्यांकहरूले भने यसअघि कृषिक्षेत्रमा गरिएको लगानी र नीति नियमको प्रभावकारी कार्यान्वयन नभएको देखाउँछ ।
उत्पादन बढाउन बाँझो जमीन राख्न नपाउने नियम ल्याइए खेती गरिने जमिनको क्षेत्रफल घटिरहेको छ । गत आर्थिक वर्षको तुलनामा आलू आर्थिक वर्षमा खाद्यान्न लगाइएको जग्गाको क्षेत्रफल ०.९ प्रतिशत घटेको मंगलवार सार्वजनिक आर्थिक सर्वेक्षण २०७६÷७७ ले देखाएको छ ।
भूमिको खण्डीकरण भइरहेको र युवा शक्ति वैदेशिक रोजगारीमा गएकाले खाद्यान्न लगाइएको क्षेत्रफल घटेको सरकारले बताएको छ । प्रतिवेदनले धानबाली लगाएको क्षेत्रफल पनि चालू आवमा गत आवको भन्दा २.२ प्रतिशत घटेको देखाएको छ । यस्तै धानको उत्पादनको वृद्धिदर पनि गत आवको भन्दा कम छ ।
यस वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषिक्षेत्रको योगदान पनि घटेको पाइएको छ । आव २०६७÷६८ मा कुल जीडीपीमा समग्र कृषिक्षेत्रको योगदान ३७ दशमलव १ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६÷७७ मा आइपुग्दा घटेर २७ दशमलव ७ प्रतिशत रहने अनुमान गरिएको छ ।
धान उत्पादनमा आएको कमी र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अवलम्बन गरिएका उपायहरूले समेत तरकारी, मासु र दुग्ध उत्पादनमा असर पारेको सर्वेक्षणमा भनिएको छ । सेवाक्षेत्रको विस्तार जस्ता कारणले कृषिक्षेत्रमा नागरिकको आबद्धता समेत घट्दै गएको छ । सन् २००८ को नेपाल श्रमशक्ति सर्वेक्षण अनुसार कृषिक्षेत्रमा जनसंख्याको ७३ दशमलव ९ प्रतिशत आबद्ध रहेकोमा सन् २०१८ मा घटेर ६० दशमलव ४ प्रतिशत कायम भएको छ ।
आर्थिक वृद्धिमा यस क्षेत्रको योगदानमा भने उतारचढाव आएको आर्थिक सर्वेक्षणले देखाएको छ । आर्थिक वर्ष २०७५÷७६ को आर्थिक वृद्धिमा यस क्षेत्रको योगदान २१ दशमलव २ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षमा यस्तो योगदान ३२ दशमलव ७ प्रतिशत रहेको अनुमान गरिएको छ ।
गत आवको तुलनामा चालू आवमा तरकारीको उत्पादनमा समेत ४ दशमलव ३ प्रतिशत ह्रास आएर ४० हजार ८९ मेट्रिकटन रहने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो उत्पादन ४ प्रतिशत बढेको थियो ।