बजेट सटिक र सान्दर्भिक : सांसद
काठमाडौं, १८ जेठ । राष्ट्रियसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएको छ । आइतवारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
छलफलमा सत्तारुढ सांसदले अहिलेको आवश्यकतालाई प्राथमिकता दिएर बजेट आएको बताए ।
छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नारायणकाजी श्रेष्ठले राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरी सरकारले ल्याइएको बजेट सटिक र सान्दर्भिक रहेको बताएका छन । कोभिड–१९ पछिको अर्थतन्त्रलाई गतिशील बनाउने गरी बजेटले अहिलेको असामान्य परिस्थितिलाई सम्बोधन गरेको उनको भनाइ छ ।
नेकपाका प्रवक्ता समेत रहनुभएका सांसद श्रेष्ठले रोजगारी सिर्जना तथा उत्पादन अभिवृद्धि गरी सामाजिक न्यायसहितको समाजवाद निर्माण गर्ने सिद्धान्तसहित बजेट आएको उल्लेख गरे ।
केकपाकै सांसद दिलकुमारी रावलले बजेट अहिलेको आवश्यकतानुरुप वस्तुपरक र यथार्थ रहेको हुँदा यसको कार्यान्वयन पक्षमा जोड दिइन् । बजेटका सिद्धान्त र प्राथमिकता वर्तमान आवश्यकतासँग सान्दर्भिक रहेको उनको भनाइ थियो ।
सोही पार्टीका विमला घिमिरेले सन्तुलित र समयानुकूल बजेट आएको हुँदा यसको कार्यान्वयनका लागि तीन तहको सरकार र प्रशासन यन्त्रको सक्रियता चाहिने खाँचो औँल्याएकी छिन् ।
यस्तै नेकपाकै भैरवसुन्दर श्रेष्ठले नेकपाको घोषणापत्रलाई सम्बोधन गर्ने गरी आएको र अहिलेको कोभिडको महामारी नियन्त्रणलाई बजेटले ध्यान दिएको बताए । कोभिडले थलिएको मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र स्वास्थ्य क्षेत्रको आवश्यकता परिपूर्तिका लागि पनि बजेटले व्यवस्था गरेको उनले उल्लेख गरे ।
नेपाली कांग्रेसका जितेन्द्रनारायण देवले बजेट समाजको कुन वर्गका लागि हो भनी प्रश्न गर्दै यो बजेट सुकिलामुकिला र टाइसुट लगाउनेका लागि मात्र भएको टिप्पणी गरे । राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमारसिंह यादवले कृषि उत्पादन, स्वास्थ्य प्रवद्र्धनजस्ता विषयलाई अपेक्षित कार्यक्रम ल्याउन नसकेको बताए । समाजवादी पार्टीका प्रमिला कुमारीले कोभिड–१९ को रोकथाम तथा अन्य सरुवाजन्य रोगको निरुपणका लागि बजेटले प्राथमिकता दिनु सकारात्मक भएको बताइन् ।