लकडाउनले वैदेशिक व्यापार प्रभावित, वैशाखमा ४६ अर्बमा सीमित
काठमाडौं, २४ जेठ । लामो समयदेखि जारी लकडाउनले मुलुकको वैदेशिक व्यापारमा ठूलो असर परेको देखिएको छ । नेपालको वैदेशिक व्यापारको ठूला सझेदार मुलुकहरू भारत र चीनतर्फको आयात निर्यातमा लकडाउनका कारण नकारात्मक प्रभाव परेको छ ।
वैदेशिक व्यापार चैतको तुलनामा वैशाखमा घटेको देखिएको छ । चैतमा ६२ अर्ब २० करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएकोमा वैशाखमा घटेर ४६ अर्ब रुपैयाँमा सीमित भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
वैशाखमा ४२ अर्ब ६० करोडको आयात भएको थियो भने ३ अर्ब २४ करोड बराबरको निर्यात भएको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको आयात घटेको र अन्तरराष्ट्रिय उडान ठप्प भएकाले त्यसको असर वैदेशिक व्यापारका परेको हो ।
वैशाखमा भारतबाट २५ अर्ब ४ करोड रुपैयाँको वस्तु आयात भएको छ भने नेपालबाट जम्मा २ अर्ब ९ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । सोही अवधिमा चीनबाट १ अर्ब ९८ करोड रुपैयाँको आयात हुँदा नेपालबाट मात्र ३७ लाखको निर्यात भएको छ । भारतले नेपालबाट पाम आयल र चियाको निर्यातमा अवरोध गरेकाले निर्यात खस्किएको हो ।