नेपालमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु, निको भए ३६५ जना, संक्रमितको संख्या ३२३५ पुग्यो
काठमाडौं, २४ जेठ । नेपालमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको हो । गत जेठ २१ गते डोल्पा जगदुल्लाका ५८ वर्षीय पुरुष र शुक्रबार धनगढी-४ की ५५ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । ती पुरुषको कर्णाली विज्ञान प्रतिष्ठानमा र ५५ वर्षीय महिलाको सेति अस्पतालमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जनाकारी दिए । ती पुरुष १८ गते क्वारेन्टाइनमा गएर बसेका थिए । उनको क्वारेन्टाइनमा गएर बसेको ३ दिनपछि मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी शुक्रबार मृत्यु भएकी महिला मृगौला रोगी भएरको र उनको डाइलासेस गर्दै गर्दा मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु पश्चात पीसीआर विधिबाट परिक्षण गरिएको थियो ।
त्यस्तै मन्त्रालयको पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ । प्रदेशगत रुपमा हेर्दा प्रदेश नं. १ का १२ जिल्लाका २४९ जनामा, प्रदेश नं. २ का सबै जिल्लाका १ हजार ७७ जनामा, बागमति प्रदेशका १२ जिल्लाका ९० जनामा र गण्डकी प्रदेशका ९ जिल्लाका ७३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी प्रदेश नं. ५ का ११ जिल्लाका १ हजार ६१ जनामा, कर्णाली प्रदेशका ९ जिल्लाका ५७९ जनामा र सुदूरपश्चिम प्रदेशका सबैजिल्लाका १०६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमण देशका ७० जिल्लामा फैलिएको छ ।
साथै आज थप ३२ जना निको भएका छन् । योसँगै निको भएर घर फर्कनेको संख्या ३६५ पुगेको छ । हालसम्म प्रदेश नं. १ का ७९ जना, प्रदेश नंं. २ का १३३ जना, वागमति प्रदेशका ३२ जना, गण्डकी प्रदेशका ३ जना, प्रदेश नं. ५ का ९६ जना, कर्णाली प्रदेशका ९ जना र सुदूरपश्चिम प्रदेशका १३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
देशका विभिन्न स्थानमा १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसैगरी हालसम्म पीसीआर विधिबाट ९२ हजार ४७७ र आरडीटी विधिबाट १ लाख ३७ हजार ४३५ परिक्षण भएको छ ।