विश्व बैंकले नेपाललाई दियो एक पटकमा अहिलेसम्मकै बढी ५४ अर्ब सहयोग
काठमाडौं, २९ जेठ । विश्व बैंकले नेपाललाई एकैपटकमा अहिलेसम्मकै बढी ४५ करोड अमेरिकी डलर सहायता दिएको छ । यो सहयोग ५४ अर्ब रुपैयाँ बराबर हो । नेपाललाई सडकहरुको स्तरोन्न्तिका लागि र कोभिड–१९ बाट छिटो पुनस्र्थापना हुनका लागि विश्व बैंकले यो सहयोग दिएको हो । कोभिड–१९ पछिको आर्थिक पुनस्थापनाका लागि बृहद् अन्तरदेशीय व्यापार, महिलाहरुलाई केन्द्रित गर्दै धेरै रोजगारी सिर्जना र सुरक्षित सडकका लागि यो सहयोग प्रदान गरिएको विश्व बैंकले जनाएको छ ।
केही दिन अघि उर्जा क्षेत्रको सुधारका लागि विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर अर्थात् १२ अर्ब रुपैयाँ सहयोग दिएको थियो । नेपाललाई विश्व बैंकले वार्षिक ५० करोड अमेरिकी डलर हाराहारीमा ऋण सहायता दिदैं आएकोमा कोभिड–१९ को प्रतिकार्य, आर्थिक पुनस्र्थापना र रोजगारी सिर्जनालाई लक्षित गर्दै सहयोग बढाएको हो ।
व्यापारका लागि नेपालको रणनीतिक सडक स्तरोन्नति र सुधार तथा क्षेत्रीय सम्पर्क सञ्जाल विस्तार यो सहयोग अन्तर्गत प्राथमिकीकरण गरिएको छ । नागढुंगा–नौबिसे–मुग्लिङ, कमला–ढल्केबर–पाथिभरा सडक स्तरोन्नतिका लागि सहयोग परिचालन हुनेछ । यी दुवै सडक नेपाल–भारत तथा अन्य देशसँग व्यापारका लागि महत्वपूर्ण छन् । यो सहयोगले पूर्वाधार विस्तार, व्यापार सहजीकरणलाई ध्यानमा राख्दै सीमा नाकामा विभिन्न सुविधाहरु विस्तार, कृषि वस्तु निर्यातलाई तीव्रता दिने बताइएको छ । कोभिड–१९ का बीच यो परियोजनाले आयात हुने वस्तु तथा सीमा नाकामा काम गर्ने मानिसहरुको राम्रो स्क्रीनिङ गर्नेछ । यसका साथै मार्गदर्शन तयार गरी रिमोट वर्किङ एक्सेस समेत प्रदान गरिने उल्लेख छ । उच्च सवारीचाप हुने नेपालका रणनीतिक सडकहरुलाई आवधिक मर्मत, कोभिड–१९ प्रतिकार्य र पुनस्र्थापनाका लागि आपत्कालीन सहयोगमा परिचालन गरिने विश्व बैंकले उल्लेख गरेको छ ।