Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

‘बैंकहरुलाई विस्तारको दबाब छ, दक्ष जनशक्ति छैनन्’

‘बैंकहरुलाई विस्तारको दबाब छ, दक्ष जनशक्ति छैनन्’

काठमाडौं, २३ माघ । नियामकीय पुँजी वृद्धिपछि बैंक वित्तिय संस्थाहरुलाई शाखा विस्तारको दबाब रहेको तर सोही अनुसार दक्ष जनशक्ति तयार नहुँदा बैंक तथा वित्तिय संस्थाहरु ठूलो चुनौतीबाट गुज्रीरहेको सरोकारवालाहरुले बताएका छन् । नेशनल बैंकिङ इन्स्टिच्यूट (एनबीआई) को आयोजनामा राजधानीमा आयोजित ‘ह्युमन क्यापिटल कन्फरेनस’ को उद्घाटन सत्रमा बोल्दै एनबीआईका सञ्चालक उपेन्द्र पौडेलले दक्ष जनशक्ति विकास र बैंक तथा वित्तिय संस्थाहरुको विस्तारमा सन्तुलन मिलाउन नसके यसले जोखिम निम्त्याउने चर्चा गरे । केन्द्रीय बैंकको प्रावधान अनुसार, बैंक तथा वित्तिय संस्थाहरु कुल कर्मचारी खर्चको ३ प्रतिशत तालिम तथा उनीहरुको क्षमता विकासमा लगाउनुपर्छ । यो व्यवस्थाले दक्ष जनशक्ति अभावको खाडल पूर्ति गर्न ठूलो सहयोग गरेको पौडेलको भनाई थियो ।
कार्यक्रममा नेपाल बैंकर्स संघका उपाध्यक्ष अनुकूल भट्नागरले वित्तिय क्षेत्र नेपालमा सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने र कर्मचारीको लागि राम्रो तलबसुविधा प्रदान गर्ने क्षेत्र रहेको उल्लेख गर्दै आगामी दिनहरु भने वित्तिय क्षेत्रका लागि धेरै नै चुनौतीपूर्ण रहेको टीप्पणी गरे । ‘अहिले हामी सहर केन्द्रीत छौं, अब देश नयाँ संरचनामा प्रवेश गरेकाले हामीलाई पनि वित्तिय सेवा विस्तार गर्दै गाउँ—गाउँमा जान दबाब छ,’ उनले भने, ‘हामीले जुन खालको बैंकिङ अभ्यास गर्दै आएका थियौं, नयाँ संरचनामा यसमा आमूल परिवर्तन गर्नुपर्ने देखिन्छ जसमा अहिलेको ७५ प्रतिशत कर्मचारीहरुलाई काठमाडौंबाट बाहिर पठाउनुपर्नेछ ।’
बैंकिङ क्षेत्रमा उच्च क्षमता राख्ने जनशक्ति विदेशमा राम्रो अवसर पाएर बाहिरिएका छन् भने औसत जनशक्ति यहाँ पाइन्छन् । भट्नागरले विश्वविद्यालयका ट्यालेन्टलाई ल्याएर मात्रै पनि बिना अनुभव तिनीहरुले राम्रो कार्यसम्पादन गर्न नसक्ने बताए ।
एनबीआईका सीईओ सञ्जीव सुब्बाले नियामकीय पुँजी वृद्धि बैंकहरुको संख्या घटाउने उद्देश्यले भएपनि सो अनुसार संख्या नघटेको उल्लेख गर्दै थप पुँजी वृद्धि भएको खण्डमा बैंक तथा वित्तिय संस्थाहरुलाई व्यवसाय विस्तारको थप दबाबमा पर्ने र सोही अनुसार मानवपुँजी विकास गर्नुपर्ने बताए ।
आज हुने सम्मेलनमा बैंक तथा वित्तिय संस्थाका मानवश्रोत विभागका कर्मचारीहरुलाई प्रशिक्षित गरिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x