Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुने’

‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुने’

काठमाडौं, ३ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोरोना प्रभावका कारण मन्त्रालयको बजेट कटौती भए पनि थप रकम माग गरेर पनि राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुने बताएका छन् । राष्ट्रियसभाको बुधवारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री नेम्वाङले ठूला राष्ट्रिय गौरवका आयोजना विसं २०७९÷८० सम्ममा सम्पन्न हुने विश्वास व्यक्त गरेको राससमा उल्लेख छ ।

हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, फास्ट ट्र्याक लगायतका सडक आयोजनालाई सरकारले महत्व दिएर बजेट विनियोजन गरेको उनको भनाइ छ । सडकको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन आयोजनाको पहिचान गरिएको उनले बताएका छन् ।
मन्त्रालयले त्रिदेशीय महत्व राख्ने ‘रोड कनेक्टिभिटी’ लाई पनि अघि बढाउने लक्ष्य लिएको मन्त्री नेम्वाङले बताए । विगतमा निर्माण शुरू भएका ठूला सडकलाई आवश्यक रकम विनियोजन गरेर अघि बढाइएको र भौतिक पूर्वाधारको नयाँ क्षेत्र पहिचान गर्दै सुरुङमार्गको निर्माण थालिएको उनले बताए ।
यातायातको नयाँ क्षेत्रका रुपमा रेल आयोजना सञ्चालन शुरू गरिएको पनि मन्त्री नेम्वाङले बताए । विद्युतीय रेलमार्ग यो मुलुकमा अपरिहार्य छ भनेर काँकडभिट्टा–गड्डाचौकी निर्माण शुरू गरिएको उनको भनाइ छ । उनका अनुसार छिमेकी मुलुक चीन र भारतसँगको समन्वयमा काठमाडौँ–रक्सौल र केरुङ–काठमाडौँ रेलमार्ग अघि बढेको छ ।
मन्त्री नेम्वाङले क्षेत्रीय भौगोलिक समानुपातिक रुपमा आयोजना राखिनुपर्ने कुरालाई ध्यान दिएर विगत वर्षमा छुटेको तराई मधेश सडक पूर्वाधार कार्यक्रमलाई आगामी आवमा समावेश गरिएको बताए । यो आवबाट १६५ निर्वाचन क्षेत्रमा नै निर्वाचन क्षेत्र सडक निर्माण कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ । निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि ३ अर्ब २० करोड विनियोजन गरिएको उनले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x