चक्रपथ सुधार आयोजनाको काम तीब्र, आउँदो जुलाई भित्रै सक्ने आयोजनाको दाबी
युवराज पन्त
काठमाडौं, २४ माघ । चीन सरकारको अनुदानमा सुरु भएको काठमाडौं उपत्यकाको निर्माणधिन चक्रपथ सुधार आयोजनाको कामले तीब्रता पाएको छ । निर्धारित समयभित्रै सम्पन्न गर्ने गरि काम भइरहेको चक्रपथ सुधार आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार कोटेश्वर–कलंकी सडकखण्डको करिब ७० प्रतिशत काम सकिएको छ । सन् २०१३ देखि सुरु भएको यस आयोजनाको काम आउँदो जुलाई ३१ मा सम्पन्न गर्ने गरि चीनको साङघाई कन्ट्रक्सन ग्रुपलाई जिम्मा दिएको छ । आयोजना अन्तर्गत हालसम्म ४ ठाँउमा ८ वटा पक्की पुल निर्माण भइसकेको छ । त्यस्तै अधिकांश स्थानको आकाशे पुलको फाउन्डेसनको काम पनि सक्नुका साथै सडक विस्तार लगायतका अन्य कामहरु पनि तीब्र रुपमा भइरहेको आयोजनाका प्रमुख इन्जिनियर निरञ्जन शर्माले जानकारी दिए ।
१०.३९ किलोमिटर सडक ६२ मिटर चौडाई, १५ मिटर मेनलाईन, ६÷६ मिटर पहुँचमार्ग ७.५ मिटर दाँयावाँया ट्रयाक सर्भिस पर्खाल सहित आठ लेनको बन्दै छ । अझैपनि कलंकी, ग्वार्को, सातदोवाटो लगायतका क्षेत्रमा घरटहरा नहटाईएको , पाइप लाईन, विजुली पोल, तार नहटाएका कारण असहज भएको उनले बताए । यसका लागि सडक विभाग र चक्रपथ सुधार योजनाले समन्वयकारी भूमिका निर्वाह गरि काम गरिरहेको पनि शर्माले जानकारी दिए । यस आयोजनाका लागि चीन सरकारको ४ अर्ब ९९ करोड २० लाख रुपैयां अनुदान प्रदान गरेको छ ।