Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

५ महिनापछि यसरी सञ्चालन हुँदै छ रसुवागढी नाका

५ महिनापछि यसरी सञ्चालन हुँदै छ रसुवागढी नाका

काठमाडौं, १२ असार । गत माघ १५ देखि बन्द रसुवागढी नाका खोल्न चीन सहमति भएको छ । नेपाल र चीनका सम्बन्धित अधिकारीहरुबीच बुधवार रसुवागढीस्थित मितेरी पुलमा सम्पन्न वार्तामा भएको नाका खोल्ने सहमतिअनुसार सोमवारदेखि सञ्चालनमा आउने भएको छ ।
नाका सुचारु भए तापनि नेपाली कन्टेनर केरुङसम्मै जान पाउनेछैनन् । चिनियाँ कन्टेनरले नै नेपाल ल्याउन लागिएका सामान रसुवागढीको मितेरी पुलसम्म ल्याउने र नेपाली कन्टेनरले चीनबाट आएका सामान लोड गरेर ल्याउन पाउनेछन् । दुवै देशका नागरिक आवतजावतमा भने यथावत् रोक लगाई अब चिनियाँ सवारी साधनले नै मितेरी पुलसम्म मालसामान उपलब्ध गराउने सहमति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिएका छन् ।
सामान आयात निर्यात भए पनि मानिसको आवतजावत भने बन्द नै रहनेछ । दुवै देशमा कोरोना भाइरस नियन्त्रणमा नआएसम्म आवातजावत बन्द रहने दुवै देशका स्थानीय प्रशासनले सहमति गरेका छन् । चीनका पाँच कन्टेनरले दैनिक नेपाल–चीन सीमाको पुलमा सामान ल्याउनेछन् । चीनको एक कन्टेनरले बोक्ने सामान नेपालका तीन कन्टेनरले बोक्नेछ । पुलमै सामान ल्याएर अनलोड र लोड गर्नुपर्ने भएकाले दैनिक १५ नेपाली कन्टेनर सामान मात्र नेपाल भित्रिनेछ ।
नेपाली कन्टेनरहरु मितेरी पुलमा जाँदा पनि कोभिड–१९ नियन्त्रण नीतिका सबै मापदण्ड पालना गर्नुपर्नेछ । नेपाली कामदारले पनि ती मापदण्ड पालना गरेर पुलमा गएर सामान लोड गर्न पाउनेछन् । नेपाल भित्रिएका सामानहरुलाई पनि विशेष सावधानी अपनाएर मात्र पठाइने रसुवागढी भन्सारका अधिकारीको भनाइ छ । कोरोना नियन्त्रण नभएसम्म नेपाली ट्रक तथा कन्टेनर केरूङ जान नपाउने जानकारी दिइएको छ ।
अहिले तातोपानी नाकाबाट मात्र नेपाल र चीनबीचको व्यापार सामान्य रुपमा चलिरहेको छ । यी दुवै नाका सञ्चालनमा आएपछि नेपालमा विभिन्न सामानको आपूर्ति सामान्य बन्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x