Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

अनुदान वितरणका लागि थप ११ अर्ब रुपैँयाको अख्तियारी

अनुदान वितरणका लागि थप ११ अर्ब रुपैँयाको अख्तियारी

काठमाडौं, २४ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि विभिन्न जिल्लामा किस्ता वितरण गर्न थप ११ अर्बको अख्तियारी दिएको छ । प्राधिकरणले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई यस्तो अख्तियारी दिएको हो ।
सबै जिल्लाहरुमा निजी आवास निर्माण उल्लेखनीय गतिमा बढिरहेकोले अनुदान रकमको माग उच्च हुने संभावनालाई विचार गर्दै प्राधिकरणले थप रकमको अख्तियारी दिएको हो ।
प्राधिकरणले जिल्लाबाट अनुदान मागको चाप बढ्न सक्ने स्थितिलाई विचार गरी थप ५ अर्ब रकमान्तरका लागि अर्थ मन्त्रालयलाई आग्रह पनि गरेको छ ।
निजी आवास पुनर्निर्माण गरिरहेका लाभग्राहीलाई किस्तावापतको रकमका लागि कुनै समस्या नभएको प्राधिकरणका उपसचिव एवं सूचना अधिकारी मनोहर घिमिरले जानकारी दिनु भयो । ‘घर निर्माण गर्नका लागि रकम अभाव नहोस् भनेर अग्रिम रुपमै जिल्लाहरुमा निकास गर्न बजेटको अख्तियारी दिइएको छ ।’
घिमिरेले जिल्लाबाट माग भएअनुसार सबै जिल्लामा रकम पठाइएकोले ढुक्क भएर निजी आवास निर्माणलाई अघि बढाउन लाभग्राहीहरुलाई आग्रह पनि गर्नु भयो ।
पछिल्ला महिनाहरुमा भूकम्पप्रभावित सबै जिल्लामा निजी आवास निर्माणको क्रम तीव्र भएको छ । मंगलबार साँझ ५ बजेको तथ्यांकअनुसार अहिले २ लाख ९१ हजार ८ सय ९५ घर निर्माणाधीन छन् भने दोस्रो किस्ताका लागि २ लाख २७ हजार ८ सय ५४ लाभग्राही प्रमाणीकरण भइसकेका छन् ।
निजी आवास निर्माणका लागि विश्व बैंकले दिने थप ३० अर्ब ऋण सहयोगको यही माघ पहिलो साता विश्व बैंक र अर्थ मन्त्रालयबीच सम्झौता भइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x