राजस्व ७ खर्ब, चालु खर्च ७ खर्ब २० अर्ब
काठमाडौं, १९ असार । सरकारले चालु खर्चतर्फ राजस्वभन्दा २० अर्ब रुपैयाँ बढी खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष समाप्त हुन दुई साता बाँकी रहँदा सरकारले झण्डै ७ खर्ब हाराहारीमा राजस्व उठाएको छ भने चालु खर्च नै ७ खर्ब २० अर्ब रुपैयाँ छ । आन्तरिक ऋण र वैदेशिक सहयोग चालु खर्चका लागि प्रयोग गर्न नपाइने हुँदा सरकारको आम्दानीभन्दा पनि खर्च बढी देखिन्छ । कुल खर्च ९ खर्ब ५२ अर्ब रुपैयाँ छ ।
असार महिनामा राजस्व संकलन केही सुधार भएपनि चैत, वैशाख र जेठमा सरकारको खर्च दायित्व पूर्ति गर्ने गरी राजस्व उठेन । दैनिक सवा दुई अर्ब रुपैयाँ राजस्व संकलन हुँदै आएकोमा लकडाउन अवधिमा ५४ करोड दैनिक राजस्व संकलन हुन थालेपछि सरकारलाई खर्च धान्न समस्या भएको हो । सरकारले चैतको कर असार पहिलो साता कर दाखिला गरिसक्न करदातालाई आग्रह गरेको थियो । यद्यपि असार मसान्तमा बुझाउनुपर्ने करले सरकारको राजस्व केही बढ्ने भएपनि पुरानो भुक्तानी समेत दिनुपर्दा सरकारको खर्च दायित्व समेत वृद्धि हुन्छ । यसले गर्दा सरकारलाई आम्दानी र खर्चको सन्तुलन मिलाउन कठिन देखिन्छ ।