जिमी ग्रुप विरुद्ध १८ करोड राजस्व छलीको मुद्दा
काठमाडौं, २६ असार । खाद्यान्न व्यापारमा संलग्न जिमी ग्रुपलाई राजस्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा १८ करोड ३३ लाख रुपैयाँ बिगो दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
नक्कली भ्याट बिल प्रयोग गरी कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी खरिदमा खर्च देखाएर कम्पनीको आम्दानी लुकाएको अनुसन्धानबाट खुलेको थियो । जिमी ग्रुपले चामल, दाल, तेल लगायत खाद्य वस्तुको व्यापार गर्दै आएको छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले अनुसन्धानका क्रममा भेटिएका प्रमाणका आधारमा अभियोजन गरिएको भन्दै अदालतमा रहेको मुद्दाका विषयमा आफूले थप बोल्न नचाहेको उल्लेख गरे ।
यस्तै, विभागले अन्तःशुल्क छलीको अभियोगमा बुटवलको श्याम ग्लास इण्डस्ट्रीज प्रालिसँग ६ करोड २५ लाख बिगो दाबीसहित उच्च अदालत तुलसीपुरको बुटवल बेञ्चले हेर्नेगरी मुद्दा दायर गरेको छ ।