भूकम्पपछिको निजी आवास पुनर्निर्माण ६५ प्रतिशत सम्पन्न
काठमाडौं, ३० असार । नेपालमा २०७२ सालको भूकम्पपछिको निजी आवास पुनर्निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । हालसम्ममा ५ लाख ७ हजार ६२३ घरको पुनर्निर्माण सम्पन्न भएको र २ लाख २ हजार ६४३ घर पुनर्निर्माणको क्रममा रहेको जानकारी प्राधिकरणले दिएको छ । घर पुनर्निर्माणका लागि ७ लाख ८६ हजार १४४ घरधनीले अनुदान सम्झौता गरेका थिए, त्यसमध्ये ६५ प्रतिशतको घर पुनर्निर्माण सम्पन्न भएको छ भने २५ प्रतिशतको घर पुनर्निर्माणको क्रममा छन् ।
भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षति पुगेको सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा धेरै ७० हजार ९७ घर पुनर्निर्माण सम्पन्न भएका छन् । नुवाकोट जिल्लामा ६४ हजार १२४ र २०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्लामा ५६ हजार घर पुनर्निर्माण सम्पन्न भएका छन् । प्राधिकरणले ६ लाखभन्दा बढी गुनासाहरू सम्बोधन गरेको जानकारी प्राधिकरणका सीईओ सुशील ज्ञवालीले दिएका छन् । संघीय संसदको विकास समिति तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण निर्णयमा चित्त नबुझे पुनरावेदन समितिमा उजुरी दिन सकिने उनले बताएका छन् ।
एकीकृत बस्ती पुनर्निर्माणका लागि ८६ वटा प्रस्ताव प्राप्त भएकोमा भूकम्प प्रभावित क्षेत्रका विभिन्न ठाउँमा आकर्षक एकीकृत बस्तीहरू बन्दै गरेको बताइएको छ । समितिको बैठकमा प्राधिकरणले विद्यालय पुनर्निर्माण, पुरातात्विक महत्त्वका सम्पदा, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन पुनर्निर्माणबारे जानकारी गराएको थियो ।