Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

जेठमा ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

जेठमा ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौं, २ साउन । जेठ महिनामा रेमिट्यान्सको आप्रवाह उच्च देखिएको छ । एक महिनामा ९४ अर्ब २ करोड रुपैँया रेमिट्यान्स भित्रिएको हो । चैत महिनामा रेमिट्यान्स ह्वात्तै घटेर ३४ अर्ब ५० करोड रुपैँयामा झरेको थियो । चैतको तुलनामा वैशाखमा केही सुधार भइ ५४ अर्ब रुपैँया रेमिट्यान्स भित्रिएकोमा जेठमा ९४ अर्ब रुपैँया पुगेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ महिनासम्मको समष्टिगत आर्थिक र वित्तिय परिदृश्य अनुसार, पहिलो ११ महिनामा कुल ७ खर्ब ४८ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ प्रतिशत कम हो । यद्यपि, अमेरिकी डलरमा तुलना गर्दा अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स ५.१ प्रतिशतले घटेको छ । कोभिड–१९ का कारण रेमिट्यान्स २० प्रतिशतसम्मले घट्न सक्ने राष्ट्र बैंकको प्रारम्भिक प्रक्षेपण रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार, मुद्रास्फिति घटेर ४.५४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६।७७ को ११ महिनामा औसत मुद्रा स्फिति ६.२८ प्रतिशत रह्यो । समीक्षा अवधिमा आयात १५ प्रतिशतले निर्यात ०.२ प्रतिशतले बढेको छ । रेमिट्यान्स, विदेशी मुद्राको शोधभर्ना जस्ता कारणले शोधनान्तर स्थिति मजबुत देखिन्छ । शोधनान्तर बचत एक खर्ब ७९ अर्ब ३७ करोड रुपैँयाले बचतमा रहेको छ ।

विदेशी विनिमय सञ्चिति अहिलेसम्मकै उच्च हुन पुगेको छ । आयात तीव्र रुपमा घटेको र रेमिट्यान्स सीमान्त घटेकाले विदेशी विनिमय सञ्चिति १० अर्ब ७९ करोड अमेरिकी डलर रहेको छ । अहिले उपलब्ध सञ्चितिले झण्डै एक वर्ष अर्थात् ११.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा बैंक तथा वित्तिय संस्थाको निक्षेप १३.३ र कर्जा १०.७ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x