जीवन बीमाको व्यवसाय बढ्यो, गत आवमा बीमाशुल्क संकलनमा ३४% वृद्धि
काठमाडौं, २० साउन । गत आर्थिक वर्ष २०७६÷७७ अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को तुलनामा बीमा कम्पनीहरूको बीमा व्यवसायमा उल्लेख्य वृद्धि भएको छ । गत आवमा जीवन बीमामार्फत सम्बन्धित कम्पनीहरूले रू. ९४ अर्ब ३८ करोड बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवमा यो ७० अर्बभन्दा बढी संकलन भएको थियो ।
अघिल्लो आवको तुलनामा गत आवमा बीमा शुल्क संकलन ३४ प्रतिशतले बढेको हो । जीवन बीमामार्फत गत आवमा रू. १ खर्ब बीमाशुल्क संकलन गर्ने लक्ष्य लिइएको थियो ।
गत आवमा जीवन बीमाको व्यवसाय उत्साहजनक रहेको जीवन बीमक संघ नेपालले बताएको छ । गत आवमा करीब ४ महीना लामो लकडाउनका कारण व्यवसायमा ह्रास आउने अनुमान गरिए खासै असर नपरेको संघको भनाइ छ ।
गत आवको चैत तथा वैशाखमा मासिक रू. २ अर्ब रुपैयाँको हाराहारी, जेठमा रू. ४ अर्ब ७४ करोड र असारमा रू. २४ अर्ब ५५ लाखको बीमाशुल्क संकलन भएको बीमा समितिले बताएको छ । १९ जीवन बीमा कम्पनीमध्ये गत आवमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमाशुल्क संकलन गरेको छ । कम्पनीले रू. २८ अर्ब ३९ करोड बीमाशुल्क संकलन गरेको देखिन्छ । यसपछि दोस्रोमा लाइफ इन्स्योरेन्स कम्पनी नेपाल रहेको छ । उसले रू. १५ अर्ब ३१ करोड बीमाशुल्क उठाएको छ । यस्तै तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले रू. ९ अर्ब २१ करोड बीमाशुल्क संकलन गरेको समितिको तथ्यांकमा उल्लेख छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले भने रू. ७ अर्ब ५ करोड संकलन गरेको छ ।