गत आवमा ४.६% घट्यो अन्तर्राष्ट्रिय हवाई आवागमन

काठमाडौं, २५ साउन । कोभिड–१९ को महामारीका कारण गत आर्थिक वर्ष (आव)मा मुलुकमा अन्तर्राष्ट्रिय हवाई आवागमनमा कमी आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा अन्तर्राष्ट्रिय हवाई आवागमन ४.६ प्रतिशतले घटेको छ । सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानतर्फ कुल ४३ लाख ४२ हजार ४६८ यात्रुको आवागमन भएकोमा सन् २०१९ मा घटेर ४१ लाख ३८ हजार ४६३ मा सीमित भएको छ ।
आन्तरिक उडानमा भने हवाई यात्रुको सङ्ख्या १६ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक उडानतर्फ सन् २०१८ मा २८ लाख ४७ हजार ७५२ यात्रु आवागमन भएकामा सन् २०१९ मा यो सङ्ख्या १६ दशमलव १६ प्रतिशतले वृद्धि भई ३१ लाख ८८ हजार ४७९ यात्रु आवागमन पुगेको प्राधिकरणको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।
लामो समय लकडाउन गर्ने नेपालजस्ता मुलुकका हकमा हवाई यात्रु आवागमन नराम्रोसँग प्रभावित हुने प्राधिकरणको प्रक्षेपण छ । नेपालमा सन् २०२० को पहिलो ५ महिनामा गतवर्षको तुलनामा अन्तरराष्ट्रियतर्फ ६१ प्रतिशत र आन्तरिकतर्फ ५५ प्रतिशत हवाई यात्रु घटेको देखिन्छ । सन् २०२० को अवधिमा यो ८० प्रतिशतसम्म पुग्ने प्राधिकरणको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *