Shangrila

२५ मेगावाटको सेती नदी जलविद्युत् आयोजनाको काम तीव्र पारिँदै

कास्की, २६ साउन । लकडाउनकै बेला शुरू गरिएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम तीव्र पारिने भएको छ । भदौदेखि आयोजनाको काम पूर्ण क्षमतामा अघि बढ्ने बताइएको छ । माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलाको भराभरीमा गत वैशाखदेखि काम शुरू भएको आयोजनाको हाल ‘एप्रोच कल्भर्ड’ र पानी थिग्राउने पोखरी ‘सेटलिङ बेसिन’ को खन्ने काम जारी रहेको आयोजनाको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा प्रालिले बताएको छ ।
भदौदेखि थप जनशक्ति, मेशिन तथा उपकरण प्रयोग गरेर निर्धारित समयभित्र आयोजना सक्ने गरी दुई सिफ्टमा सिभिलतर्फको काम तीव्रताका साथ अघि बढाइने जानकारी कम्पनीले दिएको छ । गत असार १ गते ‘जेनेरेशन लाइसेन्स’ प्राप्त भएको मितिले २७ महिनाभित्र आयोजनाबाट विद्युत् उत्पादन गरिसक्ने लक्ष्य राखिएको छ ।
विभिन्न बैंक तथा वित्तिय संस्थाको रू. ३ अर्ब ५० करोड तथा कम्पनीको स्वपूँजी रू. १ अर्ब ५० करोड गरी रू. ५ अर्ब लागतमा आयोजना शुरु गरिएको प्रवद्र्धक कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए । आयोजनामा स्थानीयवासी ३२७ जनाले लगानी गरेका छन् । आगामी भदौ १५ देखि थप ३५० मजदूर परिचालन गरेर आयोजनाको पूर्ण क्षमतामा काम शुरू गर्ने योजना रहेको बताइएको छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए), जेनेरेशन लाइसेन्स पास भएको तथा आयोजनालाई आवश्यक पर्ने निजी साढे तीन हेक्टर जमिनमध्ये ९० प्रतिशत प्राप्त भइसकेको र सरकारी १३ हेक्टर जमिन लिने प्रक्रियासमेत शुरु भइसकेको कम्पनीले जानकारी दिएको छ । जेनेरेशन लाइसेन्स प्राप्त हुनुअघि नै आयोजनाको ५ प्रतिशत हाराहारीमा काम सम्पन्न भएकाले समेत निर्धारित समयअगावै आयोजना सम्पन्न हुने अध्यक्ष पोखरेलको दाबी छ । आयोजनाको डिजाइन गरेको हाइड्रो कन्सल्ट्यान्ट इञ्जिीनयरिङका अनुसार नदी जल प्रवाहमा आधारित आयोजना रहेकाले सेती नदीको पानी ५ मिटर बाँध बाँधेर एप्रोच कल्भर्डबाट ६० मिटर लम्बाइ, २३ मिटर चौडाइको बेसिन २२ मिटर गहिरो पोखरीमा थिग्राएर पाइप मार्फत विद्युत् गृहमा पठाइनेछ ।
उत्पादित विद्युत् प्रसारण लाइनमार्फत चार किमी दूरीमा रहेको गाउँपालिकाको वडा नं ४ लाहाचोकमा निर्माणाधीन सबस्टेशनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ । विद्युत् वर्षायाममा ६ महिना ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा ८ रुपैयाँ ४० पैसा प्रतियुनिटमा विद्युत् प्राधिकरणले खरीद गर्ने सम्झौता छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *