पर्यटनबाट समृद्धि
वसन्त मिश्र
कार्यकारी अध्यक्ष, टेम्पल टाइगर ग्रुप अफ कम्पनिज
कोभिड–१९ ले विश्वभर नै पर्यटन उद्योगलाई उथलपुथल बनाएको छ । सन् २०२० को सुरुवातदेखि तीव्र रूपमा फैलिरहेको घातक महामारीका कारण मानिसहरूको आवागमन प्रभावित भएसँगै पर्यटन र आतिथ्य सत्कारमा आधारित व्यवसायको आम्दानी ठप्प भएको हो । महामारीको अनिश्चितताले पर्यटन उद्योगको भविष्यमाथि नै अन्यौल उत्पन्न खडा गरेको छ । कोभिड–१९ कै कारण वायुसेवा, क्रुजलाइन, होटल, ट्राभल एजेन्सी, ट्रेकिङसहित पर्यटनसँग आबद्ध÷निर्भर हुने अन्य उद्योग व्यवसायहरू पनि संकटमा परेका छन् ।
विगत २ दशकदेखि नेपाली पर्यटन उद्योगले देशभित्र र बाहिरका धेरैथरी समस्याहरू झेल्दै आइरहेको छ । नेपालका राजनीतिक क्रान्तिहरू, माओवादी सशस्त्र द्वन्द्व, मध्यपूर्वको लडाइँ, ट्वीन टावर हमला, सार्स महामारी, बर्डफ्लू लगायतले पर्यटन क्षेत्रलाई यसअघि पनि बेला–बेलामा सताएको हो । यद्यपि, कोभिड–१९ लामो समयसम्म विश्वव्यापी महामारी बनेर रहँदा यसको असर निकै गहिरो र दूरगामी हुने देखिन्छ ।
अहिलेको अवस्था वास्तवमा कल्पनाभन्दा बाहिरको परिस्थिति हो । कोभिड–१९ को समाधान भ्याक्सिन, औषधि या हर्ड इम्युनिटी हो । भ्याक्सिन यो रोगलाई नियन्त्रणमा लिने अचुक उपाय हो । विश्वभरका वैज्ञानिकहरू प्रयासरत रहँदा पनि अझै भ्याक्सिन पत्ता लागेको छैन । यद्यपि, अमेरिका, चीन लगायत केही मुलुकमा भ्याक्सिनको ‘क्लिनिकल ट्रायल’ समेत शुरू भइसकेकाले केही आशाको सञ्चार गराएको छ । विश्वको पर्यटन उद्योगमा यसअघिका समस्या र अहिले कोभिड–१९ ले कति क्षति ग¥यो त ? अन्तर्राष्ट्रिय अध्ययनअनुसार अमेरिकामा सेप्टेम्बर ११ मा भएको आतंककारी हमलाले भन्दा कोभिड–१९ ले पर्यटन उद्योगमा ९ गुणा बढी असर पारेको छ । २०२० मा प्रक्षेपण गरिएको भन्दा करीब ५० प्रतिशतले पर्यटन उद्योगको आम्दानीमा कमी आउनेछ । हालको स्थितिमा सुधार आउँदै गए पनि पर्यटकको संख्यामा ५० प्रतिशतले कमी आउनेछ । होटलका प्रति १० कोठा बराबर ८ वटा कोठा खाली रहनेछन् । होटलमा ७० प्रतिशतले रोजगारी गुमाउन सक्ने आकलन गरिएको छ । सन् २०२० होटलको अकुपेन्सीका हिसाबले अहिलेसम्मकै खराब वर्ष हुनेछ । यसले पर्यटन उद्योगमा प्रत्येक हप्ता २.४ खर्ब रुपैयाँ घाटा हुने आकलन गरिएको छ ।
हामीले कोभिड–१९ लाई विश्वकै परिदृश्यलाई हेर्नुपर्छ । नेपालको आन्तरिक पर्यटनको बजार नगन्य भएकाले विदेशी पर्यटकमै भर पर्नुपर्ने अवस्था छ । कोभिड–१९ ले सन् २०२० भरि नै यो क्षेत्र प्रभावित हुने देखियो । अब हामीकहाँ पर्यटक आउने देशहरूको आर्थिक अवस्था कस्तो हुन्छ ? त्यहाँका नागरिकको उपभोग्य आम्दानीमा थपघट हुन्छ कि हुँदैन ? उनीहरूमा विदेशतिर घुमेर रमाइलो गर्न कत्तिको विश्वस्त हुन्छन् ? यसका आधारमा सन् २०२१ र २०२२ को प्रक्षेपण गर्नुपर्ने हुन्छ ।
अहिलेको अवस्थामा पर्यटन क्षेत्रलाई जीवित राख्ने, मजदूरलाई व्यवस्थापन गर्ने र पर्यटनसँग जोडिएका अन्य क्षेत्रहरूलाई व्यवस्थापन गर्नुपर्ने देखिन्छ । अब हामीले कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रलाई पुनरुत्थान गरी पुरानै लयमा फर्काउन पहलकदमी चाल्नुपर्छ । नेपाल भ्रमणमा आउने पर्यटकको स्वास्थ्य र सुरक्षामा कुनै सम्झौता गर्दैनौं भन्ने आश्वस्त बनाई भ्रमण गर्न उनीहरूमा आत्मविश्वास निर्माण गर्नुपर्छ । पूर्ण रूपमा आश्वस्त नभई कुनै पनि पर्यटक घुम्न निस्कँदैनन् । हामीले तत्कालीन संकटलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ सोच्नुपर्ने जरुरी छ ।
पर्यटन उद्योगले ठूलो संख्यामा रोजगारी सृजना गरेको छ । तर, यही क्षेत्र कोभिड–१९ को शिकार भइदिँदा यसमा आश्रित अर्थात् अन्तरआबद्धता रहेका व्यवसाय र स्वरोजगारी समेत संकटमा परेको छ । पर्यटन उद्योगलाई कर्मचारी जोगाउने (रिटेन्सन)को ठूलो चुनौती छ । कोभिड–१९ ले धेरै ठूलो संख्यामा रोजगारी जोखिममा परेको छ । पर्यटन उद्योग र रोजगारी बचाउन सरकार र निजीक्षेत्रले सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन । निजीक्षेत्रलाई बचाउन यतिबेला सरकारले सबैथरी विकल्प उपलब्ध रहेको सहयोगको हात अघि बढाउनुपर्ने हुन्छ ।
रोजगारी, मूल्य श्रृंखला, विदेशी मुद्रा आर्जन जस्ता दृष्टिले पर्यटन क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान दिएको छ । पर्यटन क्षेत्रको सम्बन्ध किसानको उत्पादनदेखि लघु, घरेलु उद्यमीले तयार गर्ने ‘सोभेनियरहरू’सम्म जोडिएको हुन्छ । त्यसैले एउटा पर्यटकले १० जनालाई रोजगारी दिन्छ भनिन्छ । यस्तो महत्वपूर्ण क्षेत्रलाई सरकारले केही राहतका कार्यक्रम घोषणा त ग¥यो, तर यसको कार्यान्वयन स्पष्ट छैन । पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाले पर्यटन उद्योगमा देखिएको समस्याको पोको फुकाउँदै लगानीकर्तासँगै रोजगारी बचाउन ताकेता गरेपछि सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमा ५० अर्ब रुपैयाँको सहुलियतपूर्ण कर्जाको कार्यक्रम घोषणा गरेको छ । तर, यो प्याकेजका बारेमा स्पष्ट बोलिएको छैन । यो ५० अर्ब रुपैयाँ कुन–कुन क्षेत्रलाई कति–कति दिने हो स्पष्ट छैन । पूर्वाधार विकास यही रकमले गर्ने हो वा श्रमिकलाई तलब पनि यसैले खुवाउने हो भन्ने कुरा स्पष्ट छैन । पर्यटकीय प्रडक्ट संवद्र्धन यही सहुलियत कर्जा कोषबाट उपलब्ध हुने रकमले गर्ने हो÷होइन भन्ने स्पष्ट छैन । नेपाल पर्यटन बोर्डले बजेटमा विनियोजित रकम के कसरी बाँडफाँट गर्ने भनेर व्यवसायीका संघसंस्था र विज्ञहरूसँग समन्वय गरेर राय सुझाव लिइरहेको छ । सबैको सुझाव लिएर कार्यान्वयन योग्य योजना बन्ला भन्ने आशा गरौं ।
सहुलियतपूर्ण कर्जा हुनाले रकम पनि नेपाल राष्ट्र बैंकमार्फत दिने भनिएको छ । तर यसलाई धेरै झञ्झटिलो र प्रक्रियामुखी नबनाइयोस् भन्ने हाम्रो राय छ । भूकम्पको समयमा पनि सहयोग लिन यसरी नै धेरै पापड बेल्नुपरेको थियो । प्रशासनिक झन्झटहरू खडा गरेर उपयोग नै गर्न नसक्ने बनाएपछि रकम विनियोजन गरेको कुनै अर्थ हुँदैन । यस क्षेत्रलाई छुट्याइएको रकम सरल र सहज तरिकाले उपलब्ध भएमा पर्यटन क्षेत्रलाई जोगाउन केही हदसम्म सहयोग मिल्छ । यसतर्फ सरकारले छिटो पहल गर्नुपर्छ । नेपाल पर्यटन बोर्ड पर्यटन पुनरुत्थान कार्ययोजना अनुसार हाम्रो माग २० अर्ब रुपैयाँको थियो । सरकारले ५० अर्ब उपलब्ध गराउने निर्णय गरेको छ । तर यसको कार्यान्वयन सहज हुनुपर्छ ।
विद्यमान संकटबाट निकास
सरकारी र निजीक्षेत्रको संयुक्त प्रयासले नेपाली पर्यटन उद्योग सफलतातर्फ लम्किरहेको छ । सरकारले कहिल्यै पनि पर्यटन व्यवसायमा लगानी गरेन । उसले निजीक्षेत्रलाई लगानी गर्न लगायो र सरकारले अनुकूल नीति नियम निर्माण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गरिदिने काम ग¥यो । नेपाल पर्यटन बोर्ड सार्वजनिक–निजी साझेदारी मोडलको एउटा सफल नमूना हो । पर्यटन बोर्डले नेपालका पर्यटकीय गन्तव्यहरूको अन्तर्राष्ट्रिय जगतमा प्रचार–प्रसार गरिदिने काम गरिरहेको छ ।
कोभिड–१९ ले थलिएको पर्यटन उद्योगलाई कसरी बचाउने भनेर माथि चर्चा गरिसक्यौं । अब पर्यटन क्षेत्रको पुनरुत्थान कसरी गर्ने भन्ने विषयमा मन्थन गरौं । हामीले पर्यटन व्यवसाय पुनरुत्थानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मार्केटिङमै जोड दिनुपर्छ ।
कसरी मार्केटिङ गर्ने त ?
नेपाल कोभिड–१९ बाट सुरक्षित छ । हामीले संक्रमणबाट जोगिन विश्व स्वास्थ्य संगठनले तय गरेको सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गरिरहेका छौं ? हामीले होटलमा सामाजिक दूरी कायम गर्न ५० प्रतिशत मात्र कोठा विक्री गरिरहेका छौं ? दुई कोठाको बीचमा एउटा खाली कोठा राखेर सेवा दिइरहेका छौं त ? भन्ने प्रश्न हामी आफंैले आफैलाई सोध्नुपर्ने हुन्छ । त्यसैगरी पर्यटकको आवागमनका लागि हामी २६ सिटको बसमा बढीमा १३ जनामात्र राख्छौं, भिन्नै–भिन्नै सवारीसाधनमा दृश्यावलोकनमा पठाउँछौं भनेर विश्व समुदायलाई आश्वस्त बनाउनुपर्छ ।
पर्यटन उद्योगको सेफ्टी म्यानुअल (सुरक्षा कार्यविधि)मा पर्यटन बोर्डले काम गरिरहेको छ । निजीक्षेत्रले कसरी सुरक्षित रूपमा सेवा दिन सकिन्छ भनेर सामूहिक रूपमा अन्तर्राष्ट्रिय बजारमा गएर टुर अपरेटर र पर्यटकलाई विश्वस्त तुल्याउन पर्छ । हामीले अनलाइन मार्केटिङ गरेर सीधै हाम्रा ग्राहकसम्म पुग्नुपर्छ । पर्यटन बोर्डले तयार पारेको सेफ्टी म्यानुअललाई अन्तर्राष्ट्रिय मार्केटिङमा लैजानुपर्छ । यो भनेको हामी सुरक्षित सेवा दिन सक्षम छौं भन्ने प्रतिबद्धता सहितको सन्देश पनि हो ।
अहिले विश्वका धेरै मुलुकले पर्यटनलाई अर्थतन्त्रको ‘प्राइम इन्डष्ट्री’ (प्रमुख उद्योग) बनाएर अगाडि बढिरहेका छन् । यो श्रम सघन व्यवसाय हो । पर्यटनले प्रशस्त रोजगारी सृजना गरेको हुन्छ । हामी अन्तर्राष्ट्रिय जगतमा अरु मुलुकसँग सँगसँगै प्रतिस्पर्धा गर्न तयार हुनुपर्छ । यो काममा सरकार र निजीक्षेत्र सँगसँगै अगाडि बढ्नुपर्छ । पर्यटनको सेफ्टी म्यानुअल निजीक्षेत्रले बनाएर हुँदैन । निजीक्षेत्रले तयार पारेको म्यानुअलमा व्यावसायिक स्वार्थ पनि जोडिएको हुन सक्छ । सरकारी निकायले बनाएको म्यानुअलमा बढी आश्वस्त हुने ठाउँ रहन्छ । सरकारले बनाएको म्यानुअल निजीक्षेत्रले कार्यान्वयनमा ल्याउनुपर्छ । पालना नगर्नेलाई जरीवाना भराउन सक्नुपर्छ । यसो भएमा विदेशी पर्यटकको नेपालमाथि विश्वास बढ्न थाल्छ । जब सरकार र निजीक्षेत्रको एउटै आवाज अन्तर्राष्ट्रिय बजारमा पुग्छ, त्यो बेलाको मार्केटिङ बढी प्रभावकारी हुन्छ ।
समृद्धिका लागि पर्यटनको अधिकतम उपयोग
तत्काल त पर्यटन उद्योगलाई कोभिड–१९ को संकटबाट बचाउनु र तङ्ग्य्राउनु छ । सुरक्षित सेवा दिन सक्षम रहेको विश्वस्त गराउँदै हामीले गर्ने मार्केटिङले विदेशी पर्यटक भित्र्याउन सहयोग पुग्छ । उनीहरू नेपाल घुम्न आउँछौं भने ल्याउने साधन पनि चाहियो । अहिले आइरहेका एयरलाइन्सहरूलाई जे जस्तो सुविधा दिएर भए पनि उडान बन्द नगर्ने वातावरण निर्माण गर्नुपर्छ । विमान सेवा सञ्चालन नभएसम्म हाम्रो मार्केटिङको परिणाम निस्कँदैन । अहिले कतिपय युुरोपेली मुलुकहरूमा ट्राभल गर्छु भन्ने मान्छेलाई कोभिड–१९ संक्रमण नभएको सर्टिफिकेट भए पुग्छ । त्यो सर्टिफिकेट भएपछि क्वारेन्टिन बस्नु पर्दैन । तर, बेलायतमा सर्टिफिकेट भए पनि पुग्दैन, क्वारेन्टिन बस्नैपर्छ । अहिले कतिपय युरोपियन मुलुकको होटलमा अकुपेन्सी दर ३१ प्रतिशत पुगिसकेको छ । उनीहरूले युरोपेली नागरिकले यात्रा गर्न मिल्ने मुलुकहरूको सूची अद्यावधिक गरिरहेका छन् । अन्य युरोपेली मुलुकको तुलनामा बेलायतमा भने क्वारेन्टिन बस्नुपर्ने बाध्यकारी मापदण्डले अहिलेसम्म पर्यटक बढ्न सकेको छैन । नेपाल आउने पर्यटकका लागि हाम्रो नीतिले मात्र पुग्दैन । टाढाका मुलुकबाट घुमफिर गर्न आउने पर्यटकले भारत–नेपाल, नेपाल–भुटान एकसाथ घुम्नेगरी योजना बनाएको हुन्छ । भारत, भुटान, चीन लगायत मुलुकले लिने नीतिले पनि हामीकहाँ पर्यटक आगमनमा प्रभाव पार्छ ।
हाम्रो सरकारले तिमीहरू बाहिरबाट आएका हौ, १४ दिन क्वारेन्टिन बस्नुपर्छ भनेर हुँदैन । १४ दिन होटलमा थुनिन कोही पनि पर्यटक नेपाल आउँदैन । पूरै खुला गर्दा पनि भोलि समस्या निम्तिन सक्छ । यसलाई सन्तुलित बनाउन बरु सरकारले विदेशबाट आउने पर्यटकलाई विमानस्थलमै पिसिआर (पोलिमरेज चेन रियाक्सन) टेस्ट गर्न सक्छ । रिपोर्ट पोजेटिभ आए क्वारेन्टिन पठाउने र नेगेटिभ आएमा सामाजिक दूरी कायम गरेर घुमफिर गर्न दिने गर्नुपर्छ । अहिले त तत्कालै पीसीआर रिपोर्ट आउने प्रविधि पनि विकास भइसकेको छ । विमानस्थलमा पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र निजीक्षेत्रले मिलेर अत्याधुनिक पिसिआर मेशिन राख्न सक्छन् । भारतमा पनि यस्तै नीति बनाउनु पर्छ । फेरि भारतले १४ दिन क्वारेन्टिन राख्छौं भन्यो भने सीमित बाहेक ठूलो संख्यामा पर्यटक नेपाल ल्याउन सकिँदैन । नेपालमा पर्यटक आगमन मूलतः कोभिड–१९ पछि छिमेकी मुलुकले पर्यटन खोल्दा कस्तो नीति लिन्छन् भन्नेमा धेरै हदसम्म निर्भर रहन्छ ।
भावी दिनका चुनौती र समाधान
पहिलो त अब हामी पर्यटन उद्योग कसरी ब्यूँताउने भन्नेमै केन्द्रित हुनुपर्नेछ । यो वास्तवमा विश्वव्यापी साझा चुनौती पनि हो । पर्यटन क्षेत्र ठप्प हुँदा यसमा अन्तरआबद्ध व्यवसाय पनि प्रभावित भएका छन् । कोभिड–१९ पछिको नयाँ अवस्थामा पर्यटन कसरी खुला गर्ने भन्ने अहिलेको प्राथमिक विषय हो । हामीले गुणस्तरीय पर्यटन प्रडक्ट लिएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जानुपर्छ । विकसित र सम्पन्न मुलुकहरूले आफ्ना टुर अपरेटरलाई सहुलियत दिएका छन् । त्यहाँका सरकारले आत्मविश्वास जगाउन भए पनि तिमीहरू पर्यटक ल्याऊ भनिरहेका छन् । पर्यटकको आवागमन खुलेपछि अन्य क्षेत्रमा पनि आत्मविश्वास बढ्छ र क्रमशः पर्यटकको आवागमन बढ्न थाल्छ । हाम्रो सरकारले पनि व्यवसायीलाई सक्दो सहयोग गर्नुपर्छ । अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको युद्ध (प्राइस वार)मा जान पनि सक्षम हुनुपर्छ । हाम्रो हवाई नीति पनि उत्कृष्ट हुनुपर्छ । जतिधेरै एयरलाइन्स नेपालमा आउँछन्, त्यतिधेरै मार्केटिङ पनि हुन्छ ।