अघि बढ्दै नयाँ औद्योगिक क्षेत्रको काम, पूर्वाधारका लागि यस वर्ष १ अर्ब ८ करोड खर्च गरिँदै
पूर्ण प्रसाद चौलागाँई
२०७७–०५–०२, काठमाडौं ।। सरकारले ५ वर्षअघि घोषणा गरेको नयाँ औद्योगिक क्षेत्रमा पूर्वाधार विकासलाई गति दिइने भएको छ । देशमा आर्थिक व्यावसायिक गतिविधि बढाउन सरकारले २०७२ सालमा आधा दर्जन नयाँ औद्योगिक क्षेत्र विस्तारको घोषणा गरेको थियो । तर लामो समयसम्म भौतिक पूर्वाधारको काम अघि बढ्न नसकेकोमा चालू आवदेखि यसलाई प्राथमिकता दिन लागिएको हो ।
सरकाले घोषणा गरेको चितवनको शक्तिखोर, झापाको दमक, मकवानपुरको मयुरधाप, बाँकेको नौबस्ता, रूपन्देहीको मोतीपुर र कञ्चनपुरको दैचीमा नयाँ औद्योगिक क्षेत्र निर्माणमा हालसम्म डीपीआर, जग्गा खरीद तथा मुआब्जा व्यवस्थापन, वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया पूरा हुनुका साथै आवश्यक पूर्वाधार निर्माण भइरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बताएको छ । यस्तै चालू आर्थिक वषदेखि उक्त औद्योगिक क्षेत्र निर्माणका लागि शिलान्यास गरी पूर्वाधार निर्माण अघि बढाइएको छ ।
नयाँ औद्योगिक क्षेत्र विस्तारका लागि सरकारले चालू आवमा रू. ५८ करोड बजेट उपलब्ध गराएको छ । यस्तै गतवर्ष बचत रहेको रू. ५० करोड बजेट सहित गरी चालू आवमा पूर्वाधार निर्माणमा रू. १ अर्ब ८ करोड बजेट खर्चिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बताएको छ । कम्पनीका अनुसार नयाँ औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि आकर्षक र सुरक्षित रहेकाले व्यवसायीले चासो देखाएका छन् । विशेषगरी उत्पादनमूलक उद्योगहरू औद्योगिक क्षेत्रमा आउन चाहेको बताइएको छ । सरकारले नयाँ घोषणा गरेका ती औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालन गर्ने उद्योगहरूलाई शुरूमै ४० वर्षसम्मको करार सम्झौता गर्ने र त्यसपछि स्वतः ८० वर्षदेखि १ सय वर्षसम्म सम्झौता नवीकरण गरिने घोषणा गरेको छ । औद्योगिक क्षेत्रभित्रको जग्गा भाडा भने हाल सञ्चालनमा रहेका औद्योगिक क्षेत्रहरूमा जस्तै कायम गरिएको छ ।