केपी ओली प्रधानमन्त्रीमा नियुक्त, ४ बजे सपथग्रहण गर्दै

काठमाडौं, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएलगत्तै प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । ओली नेपालका ४१औं प्रधानमन्त्री भएका छन् भने उनी दोस्रो पटक प्रधानमन्त्री बनेका हुन् ।

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न बहुमतको दाबीसहित आज बिहान एमाले र माओवादीका शीर्ष नेता शीतल निवास पुगेका थिए ।
ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै आजै ४ बजे शीतल निवासमा सपथग्रहण हुनेछ । बिहीबार नै सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्ने सम्भावना रहेको एमालेका एक पदाधिकारीले बताए । एमाले र माओवादीबाट एकएकजना नेता पहिलो चरणमा मन्त्री हुने सम्भावना छ ।

यसैबीच आजै प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आज जनताको नाममा सम्बोधन गर्दै उनले पदबाट राजनीनामा दिएको घोषणा गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *