Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

नेपालमा लगानीका लागि बेलायती लगानीकर्तालाई सहजीकरण गरिदिन अर्थमन्त्री खतिवडाको आग्रह

नेपालमा लगानीका लागि बेलायती लगानीकर्तालाई सहजीकरण गरिदिन अर्थमन्त्री खतिवडाको आग्रह

काठमाडौं, ११ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानीको उपयुक्त वातावरण भएको भन्दै बेलायती लगानीकर्तालाई यसमा सहजीकरण गरिदिन बेलायत सरकारलाई आग्रह गरेका छन् । बिहीवार संयुक्त अधिराज्य बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमदसँगको छलफलको क्रममा अर्थमन्त्री खतिवडाले अघिल्लो वर्ष लगानी सम्मेलनका सिलसिलामा आफूले बेलायत भ्रमण गर्दा नेपालमा लगानीका लागि बेलायती लगानीकर्ताहरु उत्सुक भएको स्मरण गर्दै उनले यसमा सहजीकरण गर्न बेलायत सरकारलाई अनुरोध गरेका हुन् ।
भिडियो कन्फ्रेन्स मार्फत भएको उक्त छलफलमा अर्थमन्त्रीले नेपाल र संयुक्त अधिराज्य बेलायत बीच दुई सय वर्ष देखि घनिष्ठ सम्बन्ध रहेको भन्दै नेपालको आर्थिक विकास, स्वास्थ्य, शिक्षा, भूकम्पपछिको पुनर्निर्माण, वित्तीय पहुँच, सडक पूर्वाधार र लगानी जस्ता क्षेत्रमा बेलायत सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिए । साथै बेलायत सरकारले कोभिड(ज्ञढ पछिको कठिन समयमा स्वास्थ्य क्षेत्र, सामाजिक सुरक्षा तथा पूर्वाधार क्षेत्रमा ठूलो सहयोग गर्ने गरी प्रस्ताव गरेकोमा खुशी व्यक्त गरे ।
छलफलमा उनले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराएका थिए । उनले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेसहोल्ड संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको, बेलायतसँग दोहोरो कर मुक्ति सम्झौताको प्रक्रिया अघि बढेको, लगानी आकर्षित गर्ने गरी सार्वजनिक निजी साझेदारी तथा लगानी वोर्ड ऐन लगायतका कानूनहरु निर्माण गरिएको बताए ।
साथै वित्तीय पहुँच र वित्तीय समावेशिता सम्बन्धी नीति तर्जुमा र कार्यान्वयनमा बेलायत सरकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले कार्बन उत्सर्जनमा नेपालको नगण्य अंश भएतापनि जलवायु परिवर्तनबाट नेपाल उच्च जोखिममा रहेको उल्लेख गरे । सो क्रममा उनले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमाली क्षेत्रको संरक्षण गरी जलवायु परिवर्तनको असरबाट सुरक्षित राख्न विश्व समुदायले अग्रसरता लिनुपर्नेमा जोड दिए ।
उक्त छलफलमा बेलायतका मन्त्रीले कोभिड १९ ले सिर्जना गरेको कठिन अवस्थालाई सम्बोधन गर्न नेपाललाई ४५.८ मिलियन स्टर्लिङ्ग पाउण्डको सहयोग प्याकेजको घोषणा गरेका छन् । साथै नेपालको आर्थिक सुधार, लगानीको वातावरण, वैदेशिक लगानीको सीमा, जलवायु परिवर्तनको असर न्यूनीकरण, सगरमाथा सम्बाद र हरित विकास जस्ता विषयमा नेपालसित थप सहयोग बढाउन र सहकार्य गर्न बेलायत सरकार ईच्छुक रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x