मर्मतका लागि मध्य मस्र्याङदी करिब दश दिन बन्द हुने

काठमाडौं, ६ फागुन । ७० मेगावाट जडित क्षमताको मध्य मस्र्याङदी जलविद्युत केन्द्र मर्मतका लागि सात देखि दश दिन बन्द हुने भएको छ । केन्द्रको बाँधको वायाँ तर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिको संरचनाको मर्मतकालागि १० फागुनबाट बन्द गर्न लागिएको हो ।
मध्य मस्र्याङदीको विद्युत उत्पादन बन्द भएपनि यसका कारणले आम उपभोक्ताहरुलाई लोडसेडिङ गर्नु नपर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । तर यसका कारणले कथंकदाचित प्रणालीमा कुनै समस्या आएमा विद्युत आपूर्ति कहीकतै कुनै समय अवरुद्ध हुन सक्ने घिसिङले प्रष्ट पारेका छन् ।

‘यस अवधिमा लोडसेडिङ हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युत गृह पूर्ण क्षमतामा चलाउने लगायतका वैकल्पिक व्यवस्थाको बन्दोवस्ती गरिसकेका छौं’, घिसिङले भने । उनका अनुसार कुलेखानी जलाशयमा पानीको सतह १५२१.९८.मिटर छ, जुन गतवर्षको यही अवधिको तुलनामा करिव ३ं.८३ मिटर बढी हो । कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत उत्पादन हुन्छ ।

मध्य मस्र्याङदीको बाँधको वायाँतिरको भागमापानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षतिपुगेको छ । थप क्षति हुन नदिन मर्मत गर्न लागिएको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए ।

केन्द्रबाट विद्युतको माग बढी हुने साँझ र विहानमा ७० मेगावाट र अन्य समयमा करिव ३० मेगावाट विद्युत उत्पादन हुन्छ । मध्य मस्र्याङदी अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) आयोजना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *