सुरक्षित उडानका लागि सबै तयारी पुरा

काठमाडौं, २४ भदौ । नेपाल वायु सेवा सञ्चालक संघले सुरक्षित उडानका लागि सबै प्रक्रिया पुरा गरेको जनाएको छ । संक्रमणरहित उडानका लागि सुरक्षा सम्बन्धि सबै मापदण्ड तयारी भैसकेको भन्दै यसअघि केही आन्तरिक वायु सेवा प्रदायकहरुले नमुना उडान पनि गरेका थिए । उनीहरुले कोभिड१९ को महामारी अन्त्य हुने कुनै निश्चितता नभएकाले सुरक्षित उडानको विकल्प नरहेको भन्दै सरकारसँग उडान खोल्न का लागि आग्रह गर्दै आएका छन् । सरकारले यसअघि भदौ १६ देखि उडान खोल्न सहमत भएको थियो । तर पुनः कोभिड–१९ को संक्रमण बढ्न सक्ने भन्दै सरकार उडान खोल्ने निर्णयबाट पछि हट्यो ।
वायु सेवा प्रदायकहरुले भने कन्ट्यान्ट ट्रेसिङ (सम्पर्कमा आएका व्यक्ति पहिचान) को सफ्टवेयर जडान गरिसकेको र जहाजमा संक्रमण हुन नदिन सबै सुरक्षा विधि अबलम्बन गरिएको भन्दै उडान खोल्न माग गरेका छन् । पर्यटन मन्त्रीस्तरीय निर्णयअनुसार, असोज १ देखि पहाडी र हिमाली जिल्लामा आन्तरिक उडान खोल्ने तयारी छ । यसलाई कार्यान्वयन गर्न समेत वायु सेवा सञ्चालकहरुले माग गर्दै आएका छन् । आन्तरिक वायु सेवा कम्पनीहरुको सबैभन्दा धेरै व्यवसाय हुने सिजनमा दशैंको समय प्रमुख हो । तर कोभिड१९ को संक्रमण बढेकाले सरकाले यसपटक दशैंको समयमा आन्तरिक उडान खोल्ने निश्चित छैन । असोज १ देखि हिमाली र पहाडी जिल्लामा उडान खोलेपछि संक्रमणरहित उडानलाई कार्यान्वयन गर्न सकिने देखाएर सरकारलाई दबाब दिन सकिन्छ भन्ने व्यवसायीहरुको बुझाइ छ ।
सरकारले ५ महिनादेखि आन्तरिक उडान बन्द राखेको छ । यो बीचमा सुरक्षा प्रोटोकल पालन गरी यात्रुहरुको पीसीआर टेस्ट सर्टिफिकेट, १४ दिन क्वारेन्टीन बस्नैपर्ने मापदण्डमा रहेर केही अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले गत सातादेखि नेपालमा उडान थालेका छन् ।
