व्यक्तिगत कर्जामा ‘फिक्स्ड’ वा ‘फ्लोटिङ’ ब्याजदर रोज्न पाइने

काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकले एक वर्ष अवधिभन्दा लामो व्यक्तिगत कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंकहरुलाई निर्देशन दिएको छ । खासगरी निश्चित आम्दानी हुनेहरुको किस्ता (इएमआइ) एउटै हुनेछ । बैंकहरुले प्रत्येक ६ महिनामा व्यक्तिगत कर्जाको निश्चित ब्याजदर प्रकाशन गर्नुपर्नेछ । यद्यपि आधार दरमा कति प्रिमियम जोडेर निश्चित (फिक्स्ड) ब्याजदर तय गर्न पाइने भन्ने केन्द्रीय बैंकले स्पष्ट पारेको छैन ।
निश्चित आम्दानी हुनेहरु इएमआइको एउटा अनुमानका आधारमा कर्जा लिए पनि ब्याज बढेर हैरान भएको गुनासो गर्दै आएका थिए । उदाहरणका लागि ८ प्रतिशतमा लिएको घर वा सवारी कर्जाको ब्याजदर १४ प्रतिशत पुग्दा पेशाकर्मी र खासगरी निश्चित आय वर्गलाई समस्या परेको गुनासो बाक्लै आइरहेका थिए । राष्ट्र बैंकले विगतमा ब्याजदर बजारको नियम अनुसार तलमाथि हुने भन्दै यसलाई हस्तक्षेप गर्न नसकिने बताउँदै आएको थियो । यद्यपि निश्चित ब्याजदरको माग भने ब्याजदर बढ्दो क्रममा हुँदा उठेको थियो । अहिले ब्याजदर घट्दो क्रममा छ । एक वर्षभन्दा लामो अवधिको कर्जामा लागू हुने भएकाले यसबाट ग्राहकहरु केही लाभान्वित हुने अपेक्षा गरिएको छ । यद्यपि ग्राहकलाई निश्चित या बजारको अवस्था अनुसार घबढ हुने (फ्लोटीङ) ब्याजदर रोज्ने विकल्प भने खुला रहेको राष्ट्र बैंकले जनाएको छ ।