Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

४ महिनाभित्र प्रतिवेदन बुझाउनेगरी समितिले थाल्यो रुग्ण उद्योगहरूको अध्ययन

४ महिनाभित्र प्रतिवेदन बुझाउनेगरी समितिले थाल्यो रुग्ण उद्योगहरूको अध्ययन

काठमाडौं, २९ भदौ । मुलुकमा वर्षौंदेखि सञ्चालन बन्द भएर रहेका रुग्ण उद्योगहरू सञ्चालनको सम्भावना पहिल्याउन पहल शुरू भएको छ । करोडौं लगानी रहेका रुग्ण उद्योगहरू सञ्चालनमा ल्याउनुपर्नेमा सरोकारवालाहरूले जोड दिँदै आएकोमा यससम्बन्धी अध्ययनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित समितिले आवश्यक अध्ययनको काम थालेको छ । सरकारलाई चार महिनाभित्र प्रतिवेदन बुझाउनेगरी समितिले रुग्ण उद्योगको स्वरूप पहिचान, वर्गीकरण, पुनर्निर्माण तथा व्यवस्थापन सम्बन्धी अध्ययन गर्नेछ ।
उक्त समितिले हाल पूर्वकार्य समीक्षा गरिरहेको बताइएको छ । समितिले औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार नेपाल सरकारको लगानीमा स्थापित मन्त्रालय सम्बद्ध उद्योगका साथै निजी क्षेत्रको हकमा संघीय सरकारको अधिकार क्षेत्रमा पर्ने उद्योगको भौतिक, वित्तीय, प्रविधिगत र व्यवस्थापकीय लगायत पक्षको ड्यु डिलिजेन्स अडिट (डीडीए) विश्लेषण गरी पहिचान गर्नेछ । सरकारी लगानी भएका पूर्ण रुग्ण, रुग्ण र रुग्ण उन्मुख उद्योगहरूको छुट्टाछुट्टै अध्ययन गरी यस्ता उद्योगहरूको पुनरुत्थान, सुदृढीकरण, सञ्चालन तथा व्यवस्थापनका लागि अवलम्बन गर्नुपर्ने मोडालिटी तयार गर्ने जिम्मेवारी समेत समितिलाई दिइएको छ ।
यसैगरी समितिले निजी क्षेत्रका पूर्ण रुग्ण, रुग्ण र रुग्ण उन्मुख उद्योगहरूमध्ये सम्भावितलाई पुनरुत्थान, पुनर्निर्माण र व्यवस्थापन गर्ने सम्बन्धमा सम्बन्धित उद्योग र सरकारले लिनुपर्ने पहलकदमीबारे सिफारिश गर्नेछ । पूर्ण रुग्ण, रुग्ण र रुग्ण उन्मुख उद्योगहरूले पाउनुपर्ने थप छुट, सुविधा वा सहुलियतसम्बन्धी नीतिगत, कानुनी एवं व्यवस्थापकीय विषयमा गर्नुपर्ने सुधारको सिफारिस गर्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x