बिहान ५:१९ बजे राम्चेमा ६ रिक्टर स्केलको भूकम्प, अब पहिरोको जोखिम
काठमाडौं, ३१ भदौ । आज बिहान ५ बजेर १९ मिनेटमा काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महशुष भएको छ । २०७२ सालको महाविनाशकारी गोर्खा भूकम्पको पराकम्पकै रुपमा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दू भएर पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ठूलो धक्काका कारण राम्चेमा पहिरोको जोखिम बढेको छ ।
पराकम्प जाँदा राम्चेबासीहरु पहिरो सम्झेर आत्तिदैं सहयोग मागेका थिए । २०७१ मा सिन्धुपाल्चोकको जुरेमा पहिरो गएयता सिन्धुपाल्चोकमा हरेक वर्ष बाढी पहिरो र भूकम्पका कारण ठूलो धनजनको क्षति भैरहेको छ । २०७२ को महाविनाशकारी भूकम्प जाँदा भूकम्प गराउने शक्ति गोर्खाबाट सिन्धुपाल्चोक पुगेर अड्कीएकोले यस्ता साना–ठूला पराकम्पबाट जमिनमुनीको भूकम्प गराउने शक्ति बाहिर निस्किरहेको छ । १९९० सालको भूकम्पमा भने उक्त शक्ति बाराको जंगलमा गएर रिलिज भएको अनुसन्धाताहरुले जनाएका छन् । हाम्रो भूगोल मुनि रहेको इण्डियन प्लेट तिब्बेतियन प्लेटमा घुस्ने क्रममा चट्टान चोइटिएर जमिन हल्लिन्छ । यसलाई भूकम्प र पराकम्पका रुपमा बुझ्ने गरिन्छ ।