Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अर्थतन्त्रका विभिन्न क्षेत्रको अध्ययन गर्दै अर्थ समिति, ४ उपसमिति गठन

अर्थतन्त्रका विभिन्न क्षेत्रको अध्ययन गर्दै अर्थ समिति, ४ उपसमिति गठन

काठमाडौं, ७ असोज । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले मुलुकको अर्थतन्त्रबारे विभिन्न क्षेत्रको अध्ययन शुरू गर्ने भएको छ । समितिको मंगलवार बसेको बैठकले यसका लागि चारवटा उपसमिति गठन गरेको छ । समितिले सार्वजनिक खर्च, खरीद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापनसम्बन्धी उपसमिति, राजस्व चुहावट, राजस्व बक्यौता र राजस्व प्रशासन उपसमिति, बैंक तथा वित्तीय संस्था उपसमिति तथा सार्वजनिक संस्थान अध्ययन उपसमितिमार्फत कोभिड प्रभावित अर्थतन्त्रको बृहत् अध्ययन गर्न लागेको हो ।
अर्थ सभापति कृष्ण दाहालका अनुसार अर्थतन्त्रका विभिन्न क्षेत्रमा अध्ययन गरी सरकारलाई सुझाव दिने उद्देश्यले उक्त उपसमितिहरू गठन गरिएका हुन् । सम्बन्धित क्षेत्रको अध्ययन गरी प्रतिवेदन बुझाउन उपसमितिहरूलाई ४ महीनाको समय दिइएको छ ।
चरओटै उपसमितिका लागि संयोजक समेत तोकिएको छ, जसअनुसार बैंक तथा वित्तीय संस्था उपसमितिको संयोजकमा जुलीकुमारी महतो, राजस्व चुहावट, राजस्व बक्यौता र राजस्व प्रशासन उपसमितिको संयोजकमा पदम गिरी, सार्वजनिक संस्थान अध्ययन उपसमितिको संयोजकमा मेटमणि चौधरी तथा सार्वजनिक खर्च, खरीद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापनसम्बन्धी उपसमितिको संयोजकमा सत्या पहाडीलाई चयन गरिएको छ ।
अर्थ समितिको बैठकमा पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईले मुलुकको अर्थ राजनीतिको बृहत् ढंगले अध्ययन गर्नुपर्ने आवश्यकता रहेको औंल्याएका थिए । अर्थ संरचना कुन चरणमा पुग्यो भन्नेबारे अध्ययन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
यस्तै पूर्व अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सुरेन्द्र पाण्डेले अर्थ राजनीतिको समग्र विषयबारे अध्ययन गर्नुपर्ने आवश्यक रहेको बताए । पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको समग्र अर्थतन्त्र र सरकारले लिएको आर्थिक नीतिको बारेमा समेत अध्ययन गर्नुपर्नेमा जोड दिँदै समितिले अध्ययन गरेका विषयवस्तु सरकारका लागि सुझाव हुने गरी प्रतिवेदन आउनुपर्नेमा जोड दिएका छन् ।
ती उपसमितिले नेपालको राजस्व, कर नीति, नेपालको सार्वजनिक खरीद व्यवस्थापन, बैंकहरूका निक्षेप र कर्जा लगानीको अवस्था तथा सार्वजनिक संस्थानहरूको वित्तीय एवं कार्यगत स्थितिको सम्बन्धमा आआफ्नो कार्यक्षेत्रभित्र रही अध्ययन प्रतिवेदन तयार पार्नुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x