उद्योग वाणिज्य महासंघको चुनाव मङ्सिर ११ र १२ गते हुने
काठमाडौं, १६ असोज । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा चुनाव मंसिर ११ र १२ गते हुने भएको छ । बिहीवार बसेको कार्यकारिणी समिति बैठकले वार्षिक साधारणसभा तथा चुनावको मिति तय गरेको हो । महासंघको साधारणसभा र नयाँ नेतृत्वका लागि चुनाव हुन लागेको हो । गत चैतमै भइसक्नुपर्ने महासंघको उक्त कार्यक्रम कोभिड महामारीका कारण हुन सकेको छैन ।
गृह मन्त्रालयले तोकेको मापदण्डअनुसार काठमाडौंमा चुनाव गरिने उद्योग वाणिज्य महासंघले जानकारी दिएको छ । कार्यकारी समितिले कोरोना कालमै कसर चुनाव कसरी गर्न सकिन्छ भन्ने मोडालिटी बनाउन गठित ६ सदस्यीय केन्द्रीय समितिले दिएको मोडालिटीको आधार तथा गृह मन्त्रालयको सुझाव अनुसार चुनाव सम्पन्न गर्न तयारी शुरू गरिएको महासंघले बताएको छ । महासंघका अध्यक्ष भवानी राणाको कार्यकाल सकिएपछि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको विधानअनुसार स्वतः अध्यक्ष बन्दै छन् । वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदका लागि महासंघका चुनाव हुन लागेको हो ।