पर्यटन प्रवर्द्धनका लागि स्वास्थ्य प्रोटोकलको पूर्ण कार्यान्वयनमा जोड

काठमाडौं, २३ असोज । नेपालमा कोरोना महामारीले निम्त्याएको महामारीकै अवस्थामा पनि पर्यटन प्रवद्र्धन गर्न नीतिगत सुधार र स्वास्थ्य सुरक्षा मापदण्ड (प्रोटोकल)को पूर्ण कार्यान्वयन आवश्यक रहेको औंल्याइएको छ । बिहीवार काठमाडौंमा टुरिजम रिकभरी टास्क फोर्स (टीरआरटीएफ) नेपालद्वारा आयोजित ‘पर्यटन सुचारुका लागि स्वास्थ्य मापदण्ड’ विषयक संवाद कार्यक्रममा वक्ताहरूले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । पर्यटकको स्वास्थ्य सुरक्षा, उद्धार, बीमा लगायत विषयमा उचित सम्बोधन गरी तीनै तहको संयन्त्रबीच समन्वय आवश्यक भएको उनीहरूले औंल्याएका छन् ।
कोभिडको सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा परेको भन्दै कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले त्यसको पुनरुत्थानका लागि नीतिगत सुधारका काम सरकारले गरिरहेको बताए । पर्यटन पुरानै अवस्थामा आउन केही वर्ष लाग्न सक्ने भन्दै उनले संकटकै बीच पर्यटनको पूर्वाधार विकास, जनशक्ति विकास तथा नयाँ गन्तव्य विकासतर्फ लाग्नुपर्नेमा जोड दिए ।
सिविक अस्पतालका प्रबन्ध निर्देशक डा. प्रतिभा पाण्डले कोरोना संक्रमण अन्त्य हुने निश्चित नभएकाले पर्यटक आउने वातावरण नबन्दासम्म पर्यटन क्षेत्रमा सुधार नआउने धारणा राखिन् । अतः स्वास्थ्य सुरक्षाको विषयमा थप तयारी गर्नुपर्नेमा उनले जोड छ ।
यस्तै टुरिजम रिकभरी टास्क फोर्स (टीरआरटीएफ)का प्रवक्ता खेम लकाईले पर्यटन जनस्वास्थ्यको विषयमा उचित नीतिको खाँचो औंल्याए । प्याशिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपालका प्रमुख कार्यकारी अधिकृत नयाँ सुरेशसिंह बुडालले महामारीको समयमा सबै क्षेत्र संकटमा भए पनि पर्यटन क्षेत्र थप समस्यामा परेको बताउँदै यसको पुनरुत्थानका लागि टास्क फोर्स गठन गरी काम शुरू गरिएको जानकारी दिए ।