Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बढ्यो कोरोनाको ग्राफ, के भन्छन् विज्ञहरू ?

बढ्यो कोरोनाको ग्राफ, के भन्छन् विज्ञहरू ?

काठमाडौं, २३ असोज । नेपालमा पछिल्लो ३ दिनको कोनोना संक्रमणको तथ्यांकले सबैलाई झस्काएको छ । संक्रमणको संख्या दिनप्रतिदिन ठूलो अंकले बढ्दै जाँदा आगामी दिनमा यो अझै भयावह बन्ने र सीमित आइसोलेसन तथा बेडका कारण संक्रमित बिरामीले उपचार नै नपाउने अवस्था आउन सक्ने विज्ञहरूले बताइसकेका छन् । यसले आम सर्वसाधारणलाई संक्रमणबाट बच्न सबै किसिमका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न समेत एक किसिमको मानसिक दबाब सृजना गरेको छ ।
बिहिवार देशभर ४ हजार ३६४ संक्रमित थपिएका छन्, जसमध्ये उपत्यकामा मात्रै २ हजार ५४० जनामा संक्रमण पाइएको छ । पछिल्लो एक सातामै उपत्यकामा १० हजारभन्दा बढी संक्रमित थपिएका छन् । तर संक्रमणको मिटर बढ्दै गए पनि सरकारले थप नयाँ रणनीति लिन सकेको छैन । उपत्यकाका आइसोलेसन केन्द्र भरिँदै गएका छन् । तर नयाँ थप्न सकिएको छैन । त्यसैले सरकारले लक्षण नदेखिँदासम्म पीसीआर परीक्षण नगर्न र संक्रमित भइहाले पनि गम्भीर स्वास्थ्य समस्या देखिए मात्र अस्पताल आउन भनेको छ ।
हाल मुलुकभर २६ हजार ६८४ सक्रिय संक्रमित छन् । यीमध्ये १४ हजार ९६७ जनाले होम आइसोलेसनमा छन् भने ११ हजार ७ सय १७ संक्रमित अस्पतालका साथै अन्य आइसोलेसन सेन्टरमा छन् । तर नयाँ संक्रमितलाई राख्न आइसोलेसन तथा अस्पतालमा बेडका साथै आइसीयू बेड समेत संक्रमितले भरिएका छन् । मुख्यतः काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा बेड पाउनै सकस हुन थालेको छ ।
के भन्छन् सरोकारवालाहरू
स्वाथ्स्य विज्ञ एवं सरोकारवालाहरूले कोरोना संक्रमण बढ्नुमा धेरै कारण जिम्मेवार रहेको औंल्याएका छन् । यसमा मुख्यतः यसअघि गरिएको लकडाउन र निषेधाज्ञाको माइक्रो म्यानेजमेन्ट नभएको, कन्ट्राक्ट ट्रेसिङ प्रभावकारी नभएको, पीसीआर परीक्षण समुदायस्तरसम्म हुन नसकेको, पुलिङ मेथडबाट संवेदनशील स्थानमा मास टेस्टिङ नगरिएको, जनचेतनाका प्रभावकारी सन्देश एवं प्रचारप्रसारमा कमी, अल्पकालीन तथा दीर्घकालीन रणनीतिको अभाव, भारतसँगको सिमामा मानिस आवतजावतमा प्रभावकारी रूपमा कडाइ नभएको, भारतीय मजदुर, संक्रमित जिल्लाबाट आएका व्यक्ति, सुकुमबासी बस्ती, तरकारी बजार, चोकका पसल, बधशाला, साँगुरा गल्लीभित्रका व्यवसायी, फोहोर तथा कवाड संकलन गर्ने व्यक्ति, सफाइकर्मी आदिमा खोजीखोजी परीक्षण नगरेको लगायत विभिन्न कारण रहेको उनीहरूको भनाइ छ ।
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले कन्ट्राक्ट ट्रेसिङ र आइसोलेसन प्रभावकारी रूपमा नहुँदा कोरोना संक्रमण बढ्दै गएको बताए । यस्तै जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे पनि कन्ट्याक्ट ट्रेसिङ चुस्त बन्न नसक्दा जोखिम बढ्ने बताउँछन् । पुलिंग मेथड अपनाएर दिनको ५०–६० हजार जनाको परीक्षण गर्ने, वडावडामा शंकास्पद ठाउँमा खोजीखोजी परीक्षण गर्ने तथा कन्ट्याक्ट ट्रेसिंगलाई प्रभावकारी बनाउने हो भने कोरोना संक्रमण वास्तविक अवस्था थाहा हुने उनको भनाइ छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कोरोना पोजिटिभ भइसकेका व्यक्तिको समयमै पीसीआर परीक्षण नहुँदा उसबाट अन्य धेरै जनामा संक्रमण सरिसक्ने बताउँछन् । ‘केही लक्षण देखिएर परीक्षण गरी रिपोर्ट आउने समयसम्म धेरैलाई सरिसकेको हुन्छ । ती व्यक्तिले पनि अन्यलाई सारिसकेका हुन्छन् । त्यसकारणले पनि बढेको हुन सक्छ,’ उनी भन्छन् । जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले सरकारले लकडाउन र निषेधाज्ञा गरे पनि त्यो समयमा कोरोना नियन्त्रणका लागि गर्नुपर्ने अत्यावश्यक तयारी र ठोस रणनीति नहुँदा अहिले संक्रमणको जोखिम बढ्दै गएको बताए ।
सरकारले भने आम जनताले स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा संक्रमण भयावह बन्न थालेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको खोप नआउँदासम्म मास्कको प्रयोग गर्ने, सामाजिक र भौतिक दुरी कायम गर्ने र साबुनपानीले राम्रोसँग हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय भए पनि यसको पूर्ण पालना भएको नपाइएको बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x