गैरआवासीय नेपाली संघ ज्ञान सम्मेलन : व्यवस्थित पूर्वाधार निर्माण गर्न आग्रह

काठमाडौं, २४ असोज । गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो ज्ञान सम्मेलनको अवसरमा ‘भौतिक पूर्वाधार निर्माण’ विषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले व्यवस्थितरुपमा निर्माणमा जोड दिनुपर्ने बताए । व्यवस्थित पूर्वाधार निर्माण अहिलेको आवश्यकता भएको भन्दै कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले योजना बनाएर शहरीकरण गर्न सके भविष्यमा समस्या नआउने बताए ।
नेपालमा पूर्वाधारमा लगानी विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल पूर्वाधार बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले पूर्वाधार क्षेत्रमा लगानी गर्न आतुर रहेको बताए । हाइड्रो, टुरिजम होटल र सीमेन्ट उद्योगमा पूर्वाधार निर्माण क्रम बढेको उनको भनाइ छ ।
कार्यपत्र प्रस्तुत गर्दै पीई सतिस त्रिपाठीले आर्थिक विकास सुस्त भएको बताए । अरु देशले सुरु गरेको पूर्वाधारको तुलनामा नेपाल निकै पछि रहेको उनको भनाइ छ । योजनाबद्ध ढंगले अघि बढ्न नसक्दा पूर्वाधार विकास हुन नसकेको उनले बताए ।
प्रोफेसर डां संगिता सिंहले भूकम्पपछि पुर्ननिर्माणको काम अघि बढ्न नसकेको बताइन् । योजना बनाएर शहर निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । पूर्वाधार निर्माणमा योजना बनाएर अघि बढ्न सके पछि समस्या नआउने र व्यवस्थित शहर बन्ने उनको भनाइ छ । सिभिल ईञ्जिनियर केशवराज ज्ञवालीले भवन बनाउँदा पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक भएको बताए ।
कार्यपत्र प्रस्तुत गर्दै रतन झाले पूर्वाधार निर्माणमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए । विदेशी लगानी आउन नसक्नुको कारण खोज्नुपर्ने उनको भनाइ छ । आर्जन गरेको सीप र ज्ञान ट्रान्सफर गर्न मेकानिजम बनाउन आवश्यक भएको उनले बताए ।
इञ्जिनियर दिपक बाबु कडेलले गैरआवासीय संघले बस्ती सार्न खोज्दा नसकिएको बताउनुभयो । नेपालमा रेल आवश्यकताभएपनि जीवन जिउने आवश्यकता भएको बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड १९ ले उत्पन्न गरेको विशम परिस्थितिमा पनि गैरआवासीयले महत्वपूर्ण काम गरेको बताए । भौतिक रुपमा टाढा रहेपनि संमृद्ध नेपाल, सुखी नेपालीको नारा सार्थक गर्न विश्वकै जुनसुकै देशमा बस्ने नेपालीको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।
मन्त्री नेम्वाङले शहरी विकासमा सरकार लागिपरेको बताए । हिमाली भेगमा पनि हावापानी सुहाउँदो शहर बनाउने गरी ५ वटा ठाउँमा व्यवस्थित गरी अघि बढेको उनको भनाइ छ । एक शहर एक पहिचानको रुपमा अघि बढेको उनले बताए । साना सडक व्यवस्थित गर्ने, पूर्व पश्चित रेल मार्ग निर्माण तथा सुरुङमार्ग निर्माणमा सरकारको प्राथमिकता गएको उनको भनाइ छ । उपत्यकाभित्र व्यवस्थित शहर निर्माण गर्न लागिएको र गैरआवासीय संघको समन्वयमा लगानी भित्र्याएर अघि बढ्ने उनले बताए ।
गैरआवासीय नेपाली संघका सचिव आरके शर्माले सरकार र निर्माण व्यवसायीबीच सुमधुर सम्बन्ध हुन नसकेको बताए । देशको विकासका लागि दुवै पक्ष एक भएर जानुपर्नेमा उनले जोड दिए ।