अर्थमन्त्रीमा विष्णु पौडेल, रक्षामन्त्री पोखरेल मन्त्रिपरिषद् कार्यालयमा तानिए
काठमाडौं, २८ असोज । अर्थमन्त्रीमा नेकपा सचिवालय सदस्य विष्णु पौडेल नियुक्त भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पौडेललाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयले बुधवार विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख छ ।
यसैगरी प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेका छन् । रक्षा मन्त्रालय भने प्रधानमन्त्रीले आफै राखेका छन् । यसैगरी शहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ नियुक्त भएका छन् । साथै लीलानाथ श्रेष्ठ महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बनेका छन् । यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरूङलाई भने सूचना तथा सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ ।



