Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सोलु करिडोर प्रसारण लाइनको निर्माण अघि बढ्ने

सोलु करिडोर प्रसारण लाइनको निर्माण अघि बढ्ने

काठमाडौं, २९ असोज । लामो समयसम्म प्रसारण लाइन निर्माण हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धकलाई ४५ प्रतिशत हर्जना तिर्नु परेको सोलु करिडोरको काम अगाडि बढ्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सम्बन्धित पक्षलाई बोलाएर सो प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गरेका हुन् । यसअघि प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त प्रसारण लाइन निर्माणको अवरोध हटाउन पटक–पटक पहल गरे पनि समस्या समाधान हुन सकेको थिएन ।
मन्त्री पुनले उदयपुरबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद सुरेशकुमार राई, कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, कटारी–४ का वडाध्यक्ष कृष्णराज दनुवार र सोलु करिडोर आयोजनाका प्रमुख जनार्दन गौतमलाई मन्त्रालयमा बोलाएर छलफल गरी समस्या समाधान गरेका हुन् ।
कुल १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको काम जसरी पनि अगाडि बढाउने र स्थानीयवासीले उठाएको माग सम्बोद्धन गर्न के कसरी सकिन्छ भन्नेमा समेत ध्यान दिएर अगाडि बढ्न मन्त्री पुनले आयोजनाका पदाधिकारीलाई समेत निर्देशन दिएको राससमा उल्लेख छ ।
उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिँदै आएको छ । सोलुखुम्बुमा कुनै समस्या नभए पनि उदयपुरमा भने समस्या लगातार बल्झिँदै आएको थियो । स्थानीयवासीले प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्नेलगायत सर्त राखेर काममा अवरोध गर्दै आएका थिए ।
मन्त्री पुनले स्थानीयवासीको मागअनुसार ऐलानी जमिनको मुआब्जा दिने प्रस्ताव गरेपछि सांसद राई, नगर प्रमुख श्रेष्ठ र वडाअध्यक्ष दनुवारले आयोजना निर्माणको अवरोध अन्त्य गर्ने र स्थानीयवासीलाई विश्वासमा लिएर काम गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x