कोभिडका कारण युवा बेरोजगारी बढ्दो, स्वदेश फर्किएकालाई श्रम–शीप दिन चुनौती
काठमाडौं, ३ कात्तिक । कोरोना महामारीका कारण औद्योगिक तथा व्यावसायिक गतिविधि लयमा फर्किन सकेको छैन । महिनौं लामो लकडाउन तथा निषेधाज्ञा हटे पनि कोभिड संक्रमण घट्नुको साटो झन् विकराल बन्दै छ । महामारीको जोखिम र उपभोक्ताको क्रय शक्ति घट्दा वस्तुको माग प्रभावित भएर उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन् । कतिपय साना, मझौला तथा घरेलु उद्योग लकडाउनकै बेला बन्द भए भने केही बन्दको सँघारमा पुगेका छन्, जसले गर्दा तिनमा निर्भर लाखौं युवाको रोजगारी गुगेको छ ।
उद्योग, कलकारखाना सञ्चालन हुन नसक्दा र नयाँ रोजगारी सृजना नहुँदा मुख्यतः युवा जनशक्ति बेरोजगार भएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको प्रथम त्रैमास अवधिमा ६ लाख ९०३ जना युवा बेरोजगार भएका छन् । असोज अन्तिम साता मात्रै ३९ हजार ७०० युवा बेरोजगार रहेको मन्त्रालयले बताएको छ ।
कोभिड–१९ को महामारीका विदेशस्थित श्रम बजारबाट स्वदेश फर्कनेको संख्या क्रमशः बढेपछि उनीहरूलाई व्यावसायिक तालीम र रोजगारी सृजना गर्न पनि चुनौती बन्दै गएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको यही पछिल्लो तथ्यांकअनुसार कोभिड १९ लगायत समस्यामा परेका वैदेशिक रोजगारीबाट उद्धारका लागि कुल १ लाख ३९ हजार ६७४ को निवेदनका परेकामा ६७ हजार ३७९ को उद्धार गरिएको छ । यस्तै असोज १५ सम्मकै अवधिमा विदेशबाट फर्केर बेरोजगार भएकाको सूची दर्ता २ लाख ८७ हजार ३२९ रहेको छ । अर्थतन्त्रको प्रतिकूल स्थितिमा विदेशबाट स्वदेश फर्किएका सबै युवालाई तत्काल रोजगारी सृजना सहज देखिएको छैन । फर्किएका सबै युवा दक्ष कामदार नहुनुले पनि उनीहरूको रोजगारी निश्चित हुन नसकेको बताइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले हालसम्म वार्षिक ५० हजारको संख्यामा श्रम बजारलक्षित छोटो अवधिको तालीमका कार्यक्रम सञ्चालन गर्दै आएकामा ठूलो संख्यामा श्रमिक युवा विदेशबाट स्वदेश फर्केकाले तिनलाई एकैपटक सम्बोधन गर्न कठिनाइ देखिएको छ । स्वदेशको श्रम बजारमा ठूला उद्योग र आयोजनामा पनि कोरोनाको प्रतिकूल असर परेकाले भएका रोजगारी पनि गुम्ने खतरा छ ।
परिषद्का अनुसार दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना सञ्चालन गरी विकसित देशमा अत्यधिक माग हुने पेशाहरू प्लम्बिङ, कार्पेन्टर, कुक, नर्सिङ आदि प्राविधिक एवं पेशागत सीप सिकी वैदेशिक रोजगार मार्पmत जीवनस्तर उकास्न सहज हुनेछ । सरकारले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जनसहित सञ्चालन गर्दा थप दुई लाख, गरिबी निवारण कोषको रू. १९ अर्ब परिचालनबाट डेढ लाख, सीपमूलक तालीमबाट ७५ हजार, संघ र प्रदेशमा सञ्चालन हुने लामो र छोटो अवधिका तालीमबाट ५० हजार, युवा स्वरोजगार कार्यक्रमबाट १२ हजार गरी ८ लाख नयाँ रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ ।
बजेटमा रोजगारी सृजनाका लागि करिब रू. १४ अर्ब लगानीको प्रबन्ध गरिएको छ । तर कोभिड महामारी बढ्दै गएकाले बजेटको प्रभावकारी कार्यान्वयनमा थप चुनौती देखिएको छ ।