गभर्नर अधिकारी आईएमएफ र विश्व बैंक समूहको संयुक्त वार्षिक बैठकमा सहभागी
काठमाडौं, ४ कात्तिक । गभर्नर महाप्रसाद अधिकारी अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) र विश्व बैंक समूहको संयुक्त वार्षिक भर्चुअल बैठकमा सहभागी भएका छन् । गभर्नर अधिकारीले सन् २०२० अक्टोबर १२ देखि १८ सम्म आयोजित वार्षिक वैठकमा सहभागिता जनाएका हुन् ।
सो अवसरमा गभर्नर अधिकारीले अक्टोबर १३ मा आईएमएफका डेपुटी म्यानेजिङ डाइरेक्टर ताओ चाङसँग कोभिड–१९ का कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर एवम् त्यसको न्यूनीकरणका निम्ति अवलम्बन गरिएका नीतिगत व्यवस्थाका विषयमा छलफल गरे । साथै, कोषले नेपालको विकास प्रक्रियामा गरेको आर्थिक तथा प्राविधिक सहयोगबाट पुगेको योगदानको विषयमा समेत उनले चर्चा गरे । सोही दिन उनले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्ट अल्फानो गार्सिया मोरासँग छलफल गरे । यस्तै अक्टोबर १५ मा आयोजित प्लेनरी सेसन÷टोरोन्टो सेन्टर राउण्डटेबल डिस्कसनमा समेत उनले सहभागिता जनाए ।
गभर्नर अधिकारीसँगको भच्र्युअल संवादमा आईएफसीका एशिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्ट मोराले नेपालको वित्तीय क्षेत्रको संस्थागत पुनःसंरचना, वित्तीय क्षमताको अभिवृद्धि, जलविद्युत् क्षेत्रमा लगानी विषयमा चासो व्यक्त गरेका छन् । उनले नेपालको डेभलपमेन्ट पोलिसी क्रेडिट (डीपीसी), स्वदेशी मुद्रामा बण्ड जारी गर्नेबारे समेत चासो देखाएका छन्
।
सो अवसरमा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. गुणाकर भट्ट आईएमएफको मोनिटरी र क्यापिटल मार्केट डिपार्टमेन्टको भर्चुअल बैठकमा सहभागी भएका थिए । यसबीच भएका विभिन्न बैठकका क्रममा द्विपक्षीय हित प्रवद्र्धन, आर्थिक तथा प्राविधिक सहयोगका क्षेत्रहरू, कोभिड–१९ का कारण नेपालको वित्तीय क्षेत्रमा परेका असर र त्यसको न्यूनीकरणका निम्ति लिइएका नीतिगत व्यवस्थाका विषयमा विस्तृत छलफल भएको राष्ट्र बैंकले बताएको छ ।बैठकका क्रममा एशिया प्यासिफिक डिपार्टमेण्टले रिजनल इकोनोमी आउटलुक सार्वजनिक गरेको थियो । वार्षिक बैठकमा गभर्नरको कार्यालयका कामु निर्देशक नारायणप्रसाद पोख्रेल र उपनिर्देशक डम्बर सुवेदीको समेत सहभागिता थियो ।