कोभिड महामारीले गहिरिँदै बेरोजगारी समस्या

काठमाडौं, २१ कात्तिक । कोभिड–१९ महामारीका कारण मुलुकमा बेरोजगारी समस्या बढ्दै गएको पाइएको छ । बन्दाबन्दी हटेर विस्तारै आर्थिक व्यावसायिक गतिविधिमा सुधार आउन थाले पनि उद्योग, कलकारखाना लगायत बढी जनशक्ति प्रयोग हुने क्षेत्र पुरानै अवस्थामा फर्किन नसकेको र नयाँ रोजगारी सृजना नहुँदा बेरोजगारी बढेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको प्रथम त्रैमास अवधिमा ६ लाख ९ हजार ३०० युवा बेरोजगार भएका छन् । सरकारले सामान्य अवस्था तथा अहिलको परिस्थितिमा रोजगारी सिर्जनातर्फ ध्यान नदिँदा बेरोजगारीको समस्या दिन प्रतिदिन बढ्दै गएको हो ।

बेरोजगार बनेका उक्त संख्याका युवाले मन्त्रालय तथा सम्बद्ध निकायलाई जानकारी गराएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतमणि पाण्डेले जानकारी दिए । युवाहरू बेरोजगार भए पनि उनीहरूलाई दिने रोजगारीको सुनिश्चितता गर्ने विषयमा भने मन्त्रालय तथा सरकारले कुनै निर्णय नलिएको मन्त्रालय स्रोतको भनाइ छ ।

युवा बेरोजगारी बढेसँगै मन्त्रालय मातहतका निकायले विभिन्न प्रतिष्ठान समेत निरीक्षण गरेका छन् । महामारीको समयमा तलब नपाएको तथा काम गरिरहेको संस्थाहरूबाट विनाकारण निकालिएको पाइएकाले मन्त्रालयले उक्त समस्याको समाधानका लागि चासो दिएको हो । अनुगमनपछि समस्या समाधानमा मन्त्रालय लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *