स्मार्ट मिटर जडानलाई प्राधिकरण प्राथमिकता दिँदै, केही वर्षभित्रै देशभर जडान गरिने
काठमाडौं, २२ कात्तिक । नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडानको कार्यलाई प्राथमिकता दिएको छ । प्राधिकरणले पुराना ईलेक्ट्रोमेकानिकल मिटरलाई प्रतिस्थापन गरी पहिलो चरणमा काठमाडौं उपत्यकाका रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत रहेका ग्राहकहरुको लागि ९८ हजार थान स्मार्ट मिटर जडान गरिरहेको छ । काठमाडौंका उक्त २ स्थानमा कन्ट्रक्टर एमएस पिङ्गो विस्डम जोइन्ट भेन्चुअर, चाइनासँग वि.सं. २०७५ चैत १७ गते भएको सम्झौता अनुसार अहिले काम भइरहेको छ ।
यो आयोजनाको अवधि १८ महिनाको भएपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण सम्झौता अवधि थप गर्ने प्रक्रिया अगाडि बढेको छ । स्मार्ट मिटर एक आधुनिक प्रविधियुक्त विद्युतीय मिटर हो । जसले मिटरमा रहेको विद्युतीय डाटाहरुः करेन्ट, भोल्टेज, फिक्वेन्सी, खपत युनिट, पावर फ्याक्टर, डिमाण्ड आदिको मापन गर्दछ । स्मार्ट मिटरले मापन गरिएको डाटाहरुलाई रेडियो फिक्वीन्सीको माध्यमबाट स्वचालित रुपमा निश्चित समयको अन्तरालमा डाटा सेन्टरमा रहेको सरवरमा आदान प्रदान गर्दछ । स्मार्ट मिटर जडानले प्राधिकरणलाई राजश्व संकलनमा सहज हुनुका साथै ग्राहकले मासिक रुपमा लाइनमा बसेर बिलको रकम बुझाउनु पर्ने बाध्यताको अत्य हुने काठमाडौं, स्मार्ट मिटरिङ आयोजना प्रमुख रोशन न्यौपानेले जानकारी दिए ।
प्राधिकरणले दोस्रो चरणमा काठमाडौंका ९ वटा वितरण केन्द्रहरुअन्तर्गत रहेका ग्राहकहरुको लागि करिब ३ लाख ७५ हजार थान स्मार्ट मिटरको बोलपत्र आह्वान गर्ने तयारीमा गरेको छ भने चरणवद्ध रुपमा देशका अन्य भूभागमा पनि स्मार्ट मिटर जडान गर्ने प्राधिकरणको योजना छ । प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्रबाट हालसम्म ११ हजार २७६ स्मार्ट मिटर जडान गरेको छ ।
स्मार्ट मिटर जडान गर्दाका फाइदा
ग्राहकलाई
विद्युत खपत सम्बन्धी धेरै जानकारी पाईने,
गलत बिल नजानुका साथै समयमै विलको जानकारी प्राप्त हुने,
गुनासोको चाँडो सुनुवाई हुने,
मिटर रिडरलाई कुर्नु नपर्ने
एसएमएस र इमेलमार्फत विद्युत खपतको जानकारी प्राप्त हुने
प्राधिकरणलाई
मिटर रिडिङ्ग वापतको खर्चमा कटौती हुने,
लाईन काट्न वा जोड्न जाने समय तथा खर्चको बचत हुने,
चुहावट नियन्त्रणमा सहयोग पुग्ने,
मिटर रिडिङ्गको डाटा ईन्ट्री खर्चमा कटौती हुने
फिल्ड तथा मिटररिङ्ग कार्यमा हुने समय तथा खर्चको कटौती हुने,
पिक लोड व्यवस्थापनमा सहयोग पुग्ने,
रियल टाइममा विद्युत चोरी तथा चोरी प्रयासहरु थाहा पाईने,
मिटरलाई रिमोटको माध्यमबाट अपडेट गर्न सकिने