पाटा एड्भेञ्चर ट्राभल मार्टमा पाटा नेपालको पनि सहभागिता

काठमाडौं, १४ फागुन । दुबईमा आयोजना भएको ‘पाटा एड्भेञ्चर ट्राभल मार्ट’मा पाटा नेपाल च्याप्टर सहभागी भएको छ । फेब्रुअरी २१ देखि २३ तारिखसम्म दुबईको अल आइनमा आयोजित पाटा एड्भेञ्चर ट्राभल एण्ड रेस्पोन्सिवल टुरिजम कन्फेरेन्स एण्ड मार्टमा नेपाल सहभागी भएको पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ ।

मार्टमा सहभागीले नेपालमा हरेक प्रकारको साहसिक पर्यटनको सम्भावना भएको उल्लेख गरेका थिए । उनीहरूले विश्व पर्यटनमै सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको र साहसिक पर्यटन नेपालको प्रचुर सम्भावना रहेको औंल्याएका छन् ।

मार्टमा पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड र नेपाल वायु सेवा निगमको समन्वय तथा सहकार्यमा ११ वटा निजी पर्यटन व्यावसायिक कम्पनीको सहभागिता रहेको थियो ।

मार्ट दुबईका संस्थापक सेख जायेद बिन सुल्तान अल नयनको १ सयौं जन्मजयन्ती अवसरमा यूएईले मार्टको आयोजना गरेको जानकारी दिइएको छ । संस्कृति तथा पर्यटन विभाग, आबुधाबीका कार्यकारी निर्देशक सुल्तान अल मुतावा अल धहेरीले मार्टको उद्घाटन गरेका थिए । अन्तरराष्ट्रिय सीईओ डा. मारिओ हार्डीले पाटा प्रशान्त, एशिया क्षेत्रभित्र सक्रिय रूपमा कार्यरत रहेको बताएका छन् । उनले प्रस्तुत मार्ट नयाँ विचार सृजना र सरकारी तथा निजीक्षेत्र सङ्घसंस्थाबीचको सहयोग तथा सहकार्यमा सुधार ल्याउन उत्प्रेरकको रूपमा सफल रहेको बताए ।

‘एड्भेञ्चर इन न्यू इरा’ अर्थात् ‘नयाँ युगमा साहसिक पर्यटन’ मूल नाराका साथ आयोजित मार्टमा साहसिक यात्रा तथा पर्यटन क्षेत्रको विविधता, चुनौती एवम् अवसरबारे छलफल गरिएको थियो । पाटा नेपाल च्याप्टरका सीईओ सुरेशसिंह बडालले मार्टको सहभागिता साहसिक पर्यटनका विविध आयाम र नयाँ प्रवृत्तिबारे ज्ञान प्रदान गर्ने तथा व्यापार प्रवर्द्धनको महत्त्वपूर्ण मञ्च भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *