रसुवागढी नाकाबाट आयात सामग्रीको परिमाण बढ्दै, १ अर्ब राजस्व असुली
रसुवा, २७ कात्तिक । चीनसँगको प्रमुख भन्सार नाका रसुवागढी हुँदै चीनबाट आयात हुने सामग्रीको परिमाण बढ्न थालेको छ । कोभिड– १९ महामारीका कारण बन्द रसुवागढी नाका गत असारदेखि पुनः सञ्चालनमा आएको थियो । शुरुआती समयमा चिनियाँ पक्षले न्यून परिमाणमा सामग्री पठाउने गरेकोमा पछिल्लो समय आयातित मालसामग्रीको परिमाण बढ्न थालेको रसुवा भन्सार कार्यालय, टिमुरेले बताएको राससमा उल्लेख छ ।
आयातित मालवस्तुको परिमाण बढेसँगै भन्सार राजस्व असुलीमा समेत क्रमिक सुधार आउन थालेको पाइएको छ । चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म भन्सार शुल्कबापत करिब रू. १ अर्ब राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिएका छन् । आयात भएका सामग्रीहरूमा जुत्ता, चप्पल, तयारी पोशाक, शिशुका खेलौना, विद्युत्का उपकरणलगायत रहेको बताइएको छ ।
चिनियाँ व्यवसायीले दैनिक पाँच ठूलो टे«लरमार्फत मितेरी पुलसम्म मालसामग्री ल्याउने गरेको भन्सार कार्यालयले बताएको छ । दैनिक स्वास्थ्य परीक्षण एवं सामाजिक दूरीको पालना गराई नेपाली कन्टेनरमा सामान लाद्न र रसुवागढीदेखि टिमुरेमा रहेको भन्सार हातासम्म कन्टेनर ल्याउन मजदूर तथा चालकको व्यवस्था गरिएको कार्यालयले जानकारी दिएको छ । सामान ढुवानी कार्यमा ३३ मजदूरका साथै कन्टेनर सञ्चालन गर्न १७ चालकको व्यवस्था मिलाइएको छ ।
यसैबीच, केरुङदेखि रसुवागढीसम्म सामान ढुवानी गर्ने चिनियाँ भन्सार प्रतिनिधिले चर्काे भाडा असुल्ने गरेका कारण आपूmहरू मर्कामा परेको गुनासो व्यवसायीले गरेका छन् । रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै चिनियाँ ढुवानीकर्ताले कायम गरेको केरुङदेखि रसुवागढीसम्मको भाडादर पछिल्लो समय ठूलो परिमाणमा बढाएकाले पुनरवलोकनका लागि पहल गरिदिन सम्बन्धित निकायसमक्ष आग्रह गरिएको बताइएको छ ।