राष्ट्रिय गौरवका तथा ठूला आयोजनाको काम सन्तोषजनक
काठमाडौं, २७ कात्तिक । मुलुकमा सञ्चालित राष्ट्रिय गौरवका र ठूला आयोजनाको कार्य प्रगति सन्तोषजनक रहेको पाइएको छ । कोभिड महामारीको बेला समेत सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काममा उल्लेख्य प्रगति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बताएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्रिय गौरवका ६ सहित अन्य दुई ठूला आयोजनाको काम सन्तोषजनक पाइएको मन्त्रालयको निष्कर्ष रहेको राससमा उल्लेख छ ।
भेरी–बबई र सुनकोशी–मरिन डाभइर्सन, सिक्टा, रानी जमरा कुलरिया, बबई र महाकाली सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको कामले गति लिएको छ । यस्तै उपत्यकाको भूमिगत पानीको स्रोत तथा रिचार्ज प्रणाली जोगाउने उद्देश्यले काठमाडौंका शिवपुरी राष्ट्रिय निकुञ्जमा निर्माणाधीन ढाप ड्यामको कामसमेत तीव्ररूपमा अघि बढेको बताइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सिँचाइका राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रगतिबारे मन्त्रालयका सचिव, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक तथा आयोजना प्रमुखसँग भर्चुअल बैठक गरी आयोजनाको अवस्थाबारे जानकारी लिएका थिए ।
यस्तै तत्कालीन मध्य, पश्चिम र सूदुरपश्चिम प्रदेशमा विश्व बैंकको सहयोगमा यसअघि कार्यान्वयनमा रहेको सिँचाइ तथा जस्रोत व्यवस्थापन आयोजना अन्यत्र पनि लागू गर्नेबारे समेत बैठकमा छलफल भएको थियो । बैठकले विश्व बैंक र अर्थ मन्त्रालयसँग छलफल गरी आयोजनाको मोडालिटी टुङ्गो लगाउने निर्णय गरेको छ ।
सुनकोशी–मरिन डाइभर्सनबाट एक लाख २२ हजार हेक्टर, एउटै पकड क्षेत्र रहेको भेरी–बबई डाइभर्सन र बबई सिँचाइ आयोजनाबाट ५१ हजार हेक्टर, सिक्टा सिँचाइ आयोजनाबाट ४२ हजार ७०० हेक्टर, महाकाली सिँचाइ आयोजनाबाट ३५ हजार हेक्टर र रानी जमरा कुलरियाबाट २० हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । यस्तै भेरी–बबई डाइभर्सनबाट ४७ मेगावाट, सुनकोशी–मरिन डाइभर्सनबाट करिब ३० मेगावाट तथा रानी जमरा कुलरियाबाट ४ दशमलव ७ मेगावाट विद्युत् उत्पादन हुनेछ । सिँचाइ र विद्युत् उत्पादनसँगै हुने भएकाले ती आयोजनालाई बहुउद्देश्यीय भनिएको हो । ढाप ड्याम निर्माणको काममा हालसम्म कूल ८० प्रतिशत, सिक्टामा ६० प्रतिशत, भेरी–बबईमा ४० प्रतिशत र बबइमा ४७ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
गत वर्षबाट शुरु भएको सुनकोशी मरिन आयोजनाअन्तर्गत रामेछाप र सिन्धुली खण्डमा जग्गा अधिग्रहणको काम सकिएको छ । कतिपय स्थानमा मुअब्जा वितरणसमेत भएको छ । यस्तै चालु आर्थिक वर्षमा मात्र राष्ट्रिय गौरवको आयोजनामा समाविष्ट भएको महाकाली सिँचाइ आयोजनाको कुलमध्ये १० प्रतिशत काम सम्पन्न भएको छ ।
ती सबै आयोजनाको काममा मन्त्री पुनले प्रत्यक्ष अनुगमन र निर्देशनका साथै समस्या समाधानका लागि सङ्घमा अन्तरमन्त्रालय, प्रदेश र स्थानीय सरकार तथा आयोजना प्रभावित समुदायसँग समन्वयको भूमिका निर्वाह गर्दै आउनुभएको छ । बैठकमा मन्त्री पुनले आयोजना निर्माणको काममा कुनै समस्या आए तत्काल सम्बोधन गर्न र समस्या समाधान गर्न असमर्थ भए आफूलाई जानकारी गराउन निर्देशन दिए ।